|
|
|
|
|
ओपेरा सम्बन्धी विद्बान ली यु |
|
CRI
चीनको हजारौं वर्षको प्राचीन
साहित्त्यिक इतिहासमा धेरैजना
प्रसिद्ध कवि, ओपेराका रचनाकर्ता
र उपन्यासकार थिए। तर ओपेरा लेख्ने,
त्यसको निर्देशन गर्ने, ओपेरा
सम्बन्धी सिद्धान्तको अध्ययन गर्ने
र उपन्यास लेख्ने सबै काम एकैसाथ
गर्नसक्ने सिपालु व्यक्तिहरुको
संख्या भने एकदमै कम थियो। ती
कममध्येका एक हुनुहुन्छ, चीनका
प्रसिद्ध प्राचीन साहित्त्यिक
व्यक्तित्व ली यु।
चीनको मिंग वंशका साहित्यकार ली
युको जन्म सन 1610 मा भएको थियो।
उहाँ तीस वर्षको छँदा चीनको
अन्तिम सामन्ती वंश— छिंग वंशले
सशस्त्र शक्तिको प्रयोग गरी मिंग
वंशलाई पल्टाएको थियो। त्यसपछिका
दशौं वर्षसम्म चीनमा गोलमालको
अवस्था देखिन्थ्यो। त्यस्तो
गोलमालयुक्त समाजमा जीवन
बिताउँदा-बिताउँदै सन 1680 मा श्री
ली युको निधन भयो।
सानै छँदा उहाँले चीनको परम्परागत
कन्फ्युनियस शिक्षा हासिल गरेर
सरकारी प्ररीक्षामा उत्तिर्ण भई
राजनैतिक क्षेत्रमा प्रवेश गर्ने
आशा लिनुभएको थियो। तर त्यस बेलाको
गोलमालयुक्त अवस्थामा केही पटकको
प्ररीक्षामा सहभागी भए तापनि उहाँ
परीक्षामा उत्तीर्ण हुन सक्नुभएन।
त्यसपछि उहाँले आफ्नो राजनैतिक
उद्देश्यलाई परित्याग गरी आफ्नै
घरमा एउटा किताब पसल खोल्नुभयो।
यसका साथै उहाँले ओपेराको
सिर्जनाका लागि अथक प्रयास पनि
गर्नुभयो।
ओपेराको सिर्जना र ओपेरा सम्बन्धी
सिद्धान्तको अध्ययन नै श्री ली
युको सबैभन्दा ठूलो उपलव्धि हो।
उहाँका “पी मु नामक माछा”,
“व्हांग छ्यौ फंग”, “यु साउ थौ” र
“ल्यान स्यांग पान” आदि दशवटा
ओपेरा हालसम्म पनि सुरक्षित छन।
ती ओपेराहरुमा मुख्यतः प्रेम
सम्बन्धी विषय-वस्तुलाई प्राथमिकता
दिइएको छ। वास्तविक जीवनका आधारमा
सिर्जना गरिएका ती ओपेराहरुमा
प्रेमका बारेमा युवा-युवतीहरुको
धारणा, प्रयास र प्राप्तीको
प्रशंसा गरिएको छ। यसका अतिरिक्त,
उहाँका ओपेराहरुमा पूरानो र
अनुचित विवाह सम्बन्धी धारणाको
खण्डन आदि गम्भीर सामाजिक विषय पनि
समावेश छन। श्री ली युद्बारा रचना
गरिएका ओपेराहरुले त्यति बेलाको
समाजको व्यापक स्वागत र समर्थन
पाएका थिए भने चीनसँग घनिष्ठ
सम्पर्कमा रहेका जापान आदि
दक्षिण-पूर्वी एशियाली मुलुकहरुमा
पनि उहाँका ओपेराहरु फैलिएका थिए।
उहाँद्बारा रचना गरिएका चीनको
परम्परागत ओपेराहरुले हालसम्म पनि
चिनियाँ ओपेरा क्षेत्रमा आफ्नो
अस्तित्व जोगाइराखेको पाइएको छ।
श्री ली युले ओपेरा लेख्नुका
साथसाथै अभिनय टोलीको पनि गठन गरी
आफ्ना ओपेराको प्रदर्शन गर्नेगर्नु
हुन्थ्यो। त्यस्ता अभिनयका क्रममा
उहाँ कहिलेकाहीं आफै निर्देशक
बन्नुहुन्थ्यो भने कहिलेकाहीं
अभिनय पनि गर्नुहुन्थ्यो। आफूले
मन पराएको कार्य भएकाले श्री ली
युले आफै अभिनय समूहको नेतृत्व गरी
बीस वर्षभन्दा बढी समयसम्म चीनका
दशभन्दा बढी ठाउँमा गएर आफ्ना
ओपेराको प्रदर्शान गर्नुभएको थियो।
लामो समयसम्मको प्रयासपछि श्री ली
युले ओपेरा सम्बन्धमा प्रशस्त
अनुभव हासिल गर्नुभयो। उहाँले
ओपेरा लेख्ने, अभिनेता-अभिनेत्री
छान्ने, निर्देशन गर्ने, अभ्यास
गर्ने र औपचारिक रुपमा अभिनय गर्ने
आदि ओपेरा सम्बन्धी हरेक कार्यमा
स्वयम् आफैंले भाग लिएर
ध्यानपूर्वक अध्ययन गर्नेगर्नु
हुन्थ्यो। उहाँले यस क्षेत्रमा
आफ्नो अनुभवका बारेमा “स्येन छिंग
औ ची” शिर्षकको किताबमा लेख्नुभएको
थियो भने यसबाट ओपेरा लेख्ने र
निर्देशन गर्ने तथा अभिनय गर्ने
विषय लगायत ओपेरा सम्बन्धी एउटा
पूर्ण सिद्धान्त तयार भएको थियो।
सोही सिद्धान्त नै चीनको प्राचीन
ओपेरा परिपक्व हुनुको द्यौतक हो।
श्री ली युको सिद्धान्तले चीनको
ओपेरा तथा साहित्यको विकासका लागि
सकारात्मक प्रभाव पारेको छ।
ओपेराको सिर्जना र यस बारेको
सिद्धान्त सम्बन्धी उपलव्धि बाहेक
श्री ली यु चीनको साहित्त्यिक
इतिहासका प्रसिद्ध उपन्यासकार पनि
हुनुहुन्छ। उहाँको लामो उपन्यास
“च्वे हौ छान” र छोटो उपन्यास
“स्वर निहित ओपेरा” तथा “बाह्र तला”
आदि उपन्यास निकै प्रसिद्ध छन।
उहाँले आफ्नो अनुभवका आधारमा कथा
लेख्ने गर्नुभएको थियो र तीनमा
केही अनुचित परम्परागत धारणाको
खण्डन पनि गर्नेगर्नुभएको थियो।
उदाहरणका लागि, प्राचीन कालमा
महिलाहरु बुद्धिमान हुँदैनन भन्ने
परम्परागत धारणा थियो। तर श्री ली
युले आफ्नो उपन्यासमा बुद्धिमान
महिलाको प्रशंसा गर्नुका साथै
महिलाहरुलाई विभिन्न क्षेत्रको
ज्ञान हासिल गर्न प्रेरित
गर्नुभएको छ। उहाँले आफ्नो
उपन्यासमा पुरुष र महिला समान
रहेको सम्बन्धी विचार पनि व्यक्त
गर्नुभएको छ।
यसका अतिरिक्त, कविता र इतिहासका
क्षेत्रमा पनि श्री ली युको कलम
राम्रोसँग चल्थ्यो। उहाँको
सबैभन्दा महत्वपूर्ण किताब “स्येन
छिंग औ ची” मा ओपेरा सम्बन्धी
सिद्धान्त बाहेक खाना, वास्तु र
वृक्षारोपण आदि विभिन्न क्षेत्र
सम्बन्धी विषयहरु समावेश छन।
मानिसहरु आजसम्म पनि त्यो किताब
खुशीसाथ पढ्छन र त्यसबाट ज्ञान
हासिल गर्छन।
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|