CRI
चीनमा वौद्ध धर्मसँग सम्बन्धित
चारवटा प्रसिद्ध पहाड छन। ती
चारवटा पहाड हुनः उ थाइ पहाड, अ
मै पहाड, फु थो पहाड र चियु व्हा
पहाड। जनश्रुति अनुसार, वौद्ध
धर्ममा मन्जुश्री, समन्तभद्र,
अवलोकितेश्वर, क्षतिगर्भ गरी
चारजना बोधिसत्वका लागि ती
चारवटा पहाड देहशुद्धी गर्ने
स्थान हुन। त्यसैले लामो
समयसम्म ती चारवटा पहाड र
धार्मिक सँस्कृतिका बीच अगाध
सम्बन्ध रहिआएको छ। यसका
अतिरिक्त, ती चारवटा पहाड चीनको
प्रसिद्ध दृश्यावलोकन स्थल पनि
हुन।
पाँचवटा टाकुराका श्रृंखलाले
एक-अर्कालाई अंकमाल गरेजस्तो
देखिने उ थाइ पहाडमध्ये चीनको
शान्सी अर्थात पल्लो शान्सी
प्रान्तमा पर्दछ। ती पाँचैवटा
टाकुराको शिखर समतल र फराकिला
छन, मानौं तिनीहरु माटोबाट
बनाइएका चौतारा हुन। तिनलाई
पूर्वी चौतारो, पश्चिमी चौतारो,
दक्षिणी चौतारो, उत्तरी चौतारो
र माझ चौतारो भनिन्छ। तिनलाई
संयुक्त रुपमा “उ थाइ ” भनिन्छ
अर्थात पाँच टाकुरे चौतारो। अनि
उ थाइ पहाड उत्तरी चीनमा भएको
समुद्र सतहदेखि सबैभन्दा अग्लो
स्थान हो।
उ थाइ पहाडको पूरानो नाम उ फंग शान थियो,
अर्थात पाँच टाकुरे पहाड।
त्यहाँको मौसम धेरै नराम्रो थियो।
जाडोको याममा त्यहाँ पानी पनि
जमेर हिउँ बन्थ्य्यो। वसन्त
ऋतुमा बालुवै-बालुवा हावामा
उडेर आकाशमा तुवालो लाग्थ्यो।
ग्रिष्म ऋतुमा धेरै गर्मीका
कारण मानिसलाई उकुस-मुकुस
हुन्थ्यो र किसानहरुले निकै
अप्ठ्यारो वातावरणमा खेतीपाती
गर्नुपर्थ्यो। एक दिनको कुरो
थियो, मन्जुश्री बोधिसत्व धर्म
प्रचार गर्नका लागि त्यस ठाउँमा
आउनुभयो। दुःख-कष्ट झेलन विवश
मानिसहरुलाई देखेर त्यहाँको
मौसममा सुधार गर्ने कटिबद्धता
मन्जुश्रीले जाहेर गर्नुभयो।
पूर्वी सागरका नागराजको दरबारमा एक
अलौकिक पत्थर रहेको जानकारी
मन्जुश्रीले पाए। सुक्खा
मौसमलाई रसिलो पार्नसक्ने त्यस
पत्थरको क्षमता थियो। त्यो
जानकारी पाएपछि मन्जुश्रीले
एकजना भिक्षुका रुप धारण गरेर
पूर्वी सागरका नागराजकहाँ त्यो
पत्थर सापट लिन गए।
मन्जुश्री बोधिसत्वले पूर्वी सागर
पुगेर नागराजको दरबार बाहिर एउटा
ठूलो पत्थर देखे। त्यो पत्थरनिर
पुग्दा-नपुग्दै चिसो हावा लागेको
अनुभव भयो। नागराजसित भेटेर
मन्जुश्रीले आफ्नो मनसाय सुनाए।
नागराजले माफी माग्दै भनेः “
महाधर्माचार्यले जे चीज सापट
लिनु भए पनि हुन्छ, तर यो पत्थर
सापट लिनुहुँदैन। किनभने यो
पत्थर सयौं वर्ष लगाएर समुद्रको
पिंधबाट निकालिएको हो र यो
पत्थर असाध्यै चिसो भएकाले मेरा
छोराहरुले हरेक दिन काम पूरा
गरेपछि पसिनाले निथ्रुक भएका
बेला यस पत्थरमाथि बसेर आराम
गर्नेगरेका छन। तपाईंले यसलाई
सापट लिनुभएमा मेरा छोराहरुका
लागि गर्मी छल्ने र आराम गर्ने
ठाउँ नै हुनेछैन ”। मन्जुश्रीले
पटक पटक आफू उ फंग शान पहाडको
भिक्षु भएको जानकारी दिदै
मर्त्यलोकका दुनियाँको कल्याणका
लागि तपाईंसँग अनुरोध गर्न
विशेष रुपमा यहाँ आएको हुँ भने।
त्यस अलौकिक पत्थर अरुलाई सापट दिने
नागराजको इच्छा नभए तापनि
मन्जुश्रीको अनुरोधलाई
प्रत्यक्ष रुपमा अस्वीकार गर्नु
पनि त्यति मनासिब थिएन। यो
बृद्ध भिक्षु आफै यो पत्थर
सार्न नसक्ने होला, नागराजले
मनमनै सोचे। अन्त्यमा नागराजले
स्वीकार गर्दै भनेः “यो अलौकिक
पत्थर निकै गरुङ्गो छ र
तपाईंलाई मदत दिने कसैको क्षमता
पनि छैन। यसलाई बोक्नसक्ने बल
तपाईंमा छ भने लिएर जानुहोस्”।
मन्जुश्रीले नागराजलाई धन्यवाद दिंदै त्यो
अलौगिक पत्थरका सामु गएर मुखमा
मन्त्र गर्दै त्यो अति नै ठोलो
पत्थरलाई एउटा निकै सानो गोलीमा
परिणत गरिदिए। मन्जुश्रीले त्यो
सानो गोलीलाई बाहुलीमा हालेर
हतार-हतार गर्दै फर्के।
किंकर्तव्यविमुढ भएका नागराजलाई
धेरै पछुतो लाग्यो।
मन्जुश्री उ फंग शान पहाड फर्कँदा टन्टलापुर
घाम लागिरहेको थियो। धेरै
दिनसम्म पानी नपरेर सुक्खा भएर
जमीनमा ठुल्ठुला चिराहरु परेका
थिए। त्यहाँका मानिसहरु दुःखले
छटपटाइरहेका थिए। मन्जुश्रीले
त्यो पत्थरलाई पहाडको एक
भञ्ज्यांगमा राख्नासाथ त्यहाँ
अनौठा वातावरण देखापर्यो: उ
फंग शान अर्थात पाँच टाकुरे
पहाडमा तुरुन्तै निकै शितल भयो।
त्यसैकारण त्यस भञ्ज्यांगलाई
शितल भञ्ज्याङको नाम दिइयो।
मानिसहरुले त्यहाँ एक वौद्ध
बिहारको स्थापना गरी त्यस
बिहारलाई छिङ ल्याङ श बिहारको
नाम दिइयो। त्यस बेलादेखि उ फैं
शान पहाडको नाम पनि छिङ ल्याङ
शान पहाड राखियो। आज आएर पनि उ
थाइ शान पहाडलाई छिङ ल्याङ शान
पहाड नै भनिन्छ।
उ थाइ शान पहाड राष्ट्रिय स्तरको प्रसिद्ध
दृश्यावलोकन स्थल हो। यहाँ
वौद्ध धर्ममा आधारित धेरै
मानवीय दृश्यहरु हुनुका साथै
धेरै मनोरम र अनौठा प्राकृतिक
दृश्य पनि छदैछन। त्यस सम्पूर्ण
दृश्यावलोकन स्थलमा 42 वटा
प्राचीन मठ-बिहारहरु छन। तीमध्ये
नान ठान स अर्थात दक्षिणी ध्यान
बिहार र फ क्वांग स अर्थात
बुद्ध प्रतिभाकरण बिहारको
स्थापना चीनको थांग राज्यकालमा
भएको थियो र अहिलेसम्म ती दुइवटा
बिहारको उमेर एक हजार दुइ सय
वर्ष पुगिसकेको छ। चीनमा
अहिलेसम्म राम्रोसँग संरक्षित
सबैभन्दा पूरानो काठद्बारा
निर्माण गरिएको संरचना तीनै
बिहार हुन। ती बिहारबाट चीनको
प्राचीनकालको धर्म र धार्मिक
कलाको विकासको ऐतिहासिक रुपआकृति
प्रतिबिम्बित भएको मात्र नभई
यसबाट चीनको प्राचीनकालीन वास्तु
कलाको उपलव्धि पनि केन्द्रीभूत
रुपमा देखाइएको छ।
राष्ट्रिय स्तरको प्राकृतिक दृश्यावलोकन स्थलका
नाताले उ थाइ शान पहाडमा जताततै
गगनचुम्बी अनौठा ढुंगाहरु
देखिन्छन। कलकल गरेर बगिरहेर
खोलाहरुले वनस्पतिका लागि राम्रो
वातावरण उपलव्ध गराएका छन।
पहाडको टाकुरामा वर्षैभरि हिउँ
जम्नेभएका कारण गर्मी याममा पनि
त्यहाँको मौसम शितल हुन्छ। गरम
छल्ने त्यो निकै उपयुक्त थलो
हो।
|