CRI
हान फै च चीनको इतिहासमा
युद्धरत काल (इसा पूर्व 475 देखि
इसा पूर्व221सम्म)का प्रसिद्ध
दार्शनिक र फा विचारधाराका ठूला
विद्बान एवम् साहित्यकार हुन्।
उनले स्थापित गरेको फा
विचारधाराले चीनमा पहिलो
केन्द्रीय अधिकारिक मुलुकको
स्थापनाका लागि आधार तयार पारेको
थियो।
हान फै च युद्धरत कालको अन्त्यमा हान राज्यका उच्च
दर्जाका रइस थिए। उनी भकभके थिए
तर उनले धेरै राम्रा किताब
लेखेका थिए।
त्यस बेला, हान राज्यको
परिस्थिति दिनप्रति दिन नराम्रो
हुँदैगएको थियो। आफ्नो राज्यका
भक्त भएकाले हान फै चले हानका
सम्राटसमक्ष सुधारका लागि धेरै
पटक सुझाव प्रस्तुत गरे। उनले
प्रस्तुत गरेका सुझाव-पत्रमा
शासकहरुले राज्यलाई बलियो पार्ने
र सेनालाई सशक्त पार्ने
कार्यलाई सबैभन्दा महत्वपूर्ण
कार्यका रुपमा लिनुपर्ने कुरा
उल्लेख गरिएको थियो। तर हानका
सम्राटले उनको सुझावलाई
अस्विकार गरे। त्यसपछि हान फै
चले देशको शासन-व्यवस्था
सञ्चालनका क्रममा प्राप्त अनुभव
र तत्कालीन सामाजिक अवस्था
वमोजिम “उ चु”, “कु फन”, “नैवाइछुशो”,
“शो लिन”, “शो नान”आदि जम्मा गरी
एक लाख अक्षर भएका राजनैतिक
शोध-प्रबन्ध लेखेर “हान फै
च”नामक किताब बनाए। उनका ती
शोध-प्रबन्धहरुले हान राज्यको
ध्यान आकृष्ट गर्न नसके तापनि
त्यस बेलाको बलियो राज्य छीनका
सम्राट— यीङ चङलाई त्यो निकै मन
पर्यो। त्यसपछि यीङ चङले हान
राज्यमाथि आक्रमण गर्नथाले।
हानका सम्राटले हान फै चलाई छीन
राज्य पठाएर युद्ध रोक्ने
प्रयास गरे। छीनका सम्राट यीङ
चङले हान फै चलाई महत्वपूर्ण पद
दिने निर्णय गरे। त्यस बेला छीन
राज्यका प्रधानमन्त्री ली स हान
फै चका सहपाठी थिए। हान फै च
आफूभन्दा धेरै राम्रो भएको कुरा
ली सलाई थाहा थियो। त्यसैले ली
सले छीनका सम्राटसमक्ष हान फै
चका बारेमा झुठो निन्दा गरे र
अन्तमा छीनका सम्राटले ली सको
कुरामा विश्वास गरे। छीनका
सम्राट यीङ चङले हान फै चलाई
झ्यालखानामा राखेर उनलाई विषालु
खाना खुवाएर उनलाई मारे।
हान फै चका मुख्य लेख-“हान फै च”फा पूर्ण विचारधारा
बारेको सबैभन्दा राम्रो किताब
हो। यस किताबमा पचपन्नवटा लेख
छन् र यसमा जम्मा एक लाख अक्षर
छन्। यस किताबका अधिकांश लेखहरु
हान फै च आफैंले लेखेका हुन।
त्यस बेला, चीनमा कन्फ्युसियस र
मोको विचारधारा निकै प्रचलित
थियो। त्यस बेला प्राचीन उपाय र
विचारलाई पुनर्जीवित गर्ने
प्रवाह चलेको थियो। हान फै चको
फा विचारमा यस प्रवाहको कडा
विरोध गरिएको छ। परिस्थिति तथा
समय वमोजिम उचित व्यवहार
गर्नुपर्ने उनको विचार रहेको छ।
हान फै चले दया-मायाका समर्थक
कन्फ्युसियसमाथि प्रहार गरी
कानूनका आधारमा राज्य-व्यवस्था
सञ्चालन गर्नुपर्ने विचार
प्रस्तुत गरे। उनको सिद्धान्तमा
ठूलो पुस्कार दिनु, कडा
दण्ड-सजाय दिनु, कृषि तथा
युद्धमा महत्व दिनु जस्ता चारवटा
विचारले प्रमुख स्थान लिएका छन्।
उनले सम्राटलाई भगवानले अधिकार
दिएको विचार प्रस्तुत गरे। छीन
राज-वंशदेखि चीनका विभिन्न
सामन्तवादी शासनको स्थापनामा
हान फै चको विचारधाराले ठूलो
प्रभाव पारेको देखिन्छ।
हान फै चका लेखको बनोट निकै विशेष खालको र भाषा
एकदमै राम्रो छ। उनका लेखमा
सामान्य कुरामा अनौठोपना देख्न
सकिन्छ। ती लेखहरु निकै
अर्थपूर्ण र मानिसहरुलाई चेतावनी
दिने खालको छन। हान फै चले
प्रशस्त लोकोक्ति र यथेष्ठ
ऐतिहासिक तथ्यको राम्रोसँग
प्रयोग गरी अमूर्त अर्थ
प्रस्तुत गर्नखोजेका छन। उनका
कथाहरुमा समावेश गरिएका धेरै
लोकोक्तिहरु पछि चीनमा व्यापक
रुपमा प्रयोग गरिने लोकोक्ति
बनेका छन।
|