चीनको राष्ट्रिय जन-कांग्रेसको संक्षिप्त विवरण

CRI


  जन गणतन्त्र चीनको संविधान ̋ मा जन गणतन्त्र चीनको सर्वाधिकार जनतामा निहित भएको कुरा उल्लेख गरिएको छ । जनताले राज्य-सत्ताको संचालन गर्ने अंग चाहिं राष्ट्रिय जन-कांग्रेस तथा विभिन्न तहका स्थानीय जन-कांग्रेसहरु हुन् । जन-कांग्रेसको व्यवस्था जन गणतन्त्र चीनको मूलभूत राजनैतिक व्यवस्था हो । राष्ट्रिय जन-कांग्रेस तथा विभिन्न तहका स्थानीय जन-कांग्रेसको मनोनयन प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट गरिन्छ , तिनीहरु जनताप्रति उत्तरदायी हुन्छन् र तिनको जनताद्वारा अनुगमन गरिन्छ । देशको प्रशासन-कार्यालय , फैसला-कार्यालय र न्यायाधिवक्ता-कार्यालयको गठन जन-कांग्रेसबाट गरिन्छ । तिनीहरु जन-कांग्रेसप्रति उत्तरदायी हुन्छन् र तिनको अनुगमन जन-कांग्रेसव्दारा गरिन्छ । केन्द्रीय तथा स्थानीय स्तरका सरकारी अंगको कामकाज एवम् हक-अधिकारको विभाजन केन्द्रको एकीकृत नेतृत्वको अधीनमा रहेर विभिन्न स्थानको तत्परता एवम् सक्रियताको पूर्ण रुपमा परिचालन गर्ने सिद्धान्त बमोजिम हुने गर्दछ । जन गणतन्त्र चीन एकीकृत बहूजातीय देश हो । विभिन्न थरीका अल्पसंख्यक जातिहरुले बसोबास गरिरहेका ठाउँहरुमा क्षेत्रीय स्वशासन व्यवस्था लागू हुने गर्दछ र ती स्वशासित ठाउँ सबै नै जन गणतन्त्र चीनका अविभाज्य अंग हुन् ।
       जन गणतन्त्र चीनको राष्ट्रिय जन-कांग्रेस राज्य-सत्ताको सर्वोच्च निकाय हो । चीनमा संसदको एक सदनात्मक व्यवस्था छ । त्यसको गठन विभिन्न प्रान्त , स्वायत्त प्रदेश तथा केन्द्रशासित शहरहरु र जन मुक्ति सेनाव्दारा मनोनित प्रतिनिधिहरुबाट गरिन्छ । राष्ट्रिय जन-कांग्रेसको कार्यावधि 5/5 वर्षको हुन्छ र हरेक वर्ष एक पटक सम्मेलन आयोजित हुने गर्दछ । सो सम्मेलन राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिले बोलाउने गर्दछ । राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिले आवश्यक ठानेको खण्डमा अथवा राष्ट्रिय जन-कांग्रेसका 5 खण्डको 1 खण्डभन्दा बढी प्रतिनिधिहरुले प्रस्ताव गर्नुभएको खण्डमा आवश्यक परेको बेलामा राष्ट्रिय जन-कांग्रेसको सम्मेलन बोलाउन सकिन्छ ।
राष्ट्रिय जन-कांग्रेसले निम्न हक-अधिकारको प्रयोग गर्न पाउँछ :
संविधानको संशोधन गर्ने ; संविधानको कार्यान्वयनमाथि निगरानी गर्ने ; फौजदारी , दिवानी एवम् सरकारी अंग तथा अन्य विषय सम्बन्धी मौलिक ऐन-कानूनको तर्जुमा र संशोधन गर्ने ; राष्ट्रिय जन- कांग्रेसको स्थायी समितिको अनुचित निर्णयलाई फेरबदल वा बरखास्त गर्ने अधिकार ।
राष्ट्रिय अर्थतन्त्र एवम् सामाजिक विकास सम्बन्धी योजना तथा सो योजनाको कार्यान्वयन सम्बन्धी प्रतिवेदनमाथि लेखाजोखा गर्ने र तिनलाई अनुमोदन गर्ने ; सरकारको बजेट तथा सो बजेटको कार्यान्वयन सम्बन्धी प्रतिवेदनमाथि लेखाजोखा गर्ने र तिनलाई अनुमोदन गर्ने ।
       राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका अध्यक्ष , उपाध्यक्षहरु , महासचिव तथा सदस्यहरुको मनोनयन गर्ने ; जन गणतन्त्र चीनका अध्यक्ष तथा उपाध्यक्षहरुको मनोनयन गर्ने ; जन गणतन्त्र चीनका अध्यक्षको सिफारिश बमोजिम राज्य परिषद्का प्रधानमन्त्रीको पदका लागि अनुकूल व्यक्तिलाई अनुमोदन गर्ने ; राज्य परिषद्का प्रधानमन्त्रीको सिफारिश बमोजिम राज्य परिषद्का उप-प्रधानमन्त्रीहरु , त्यसका सदस्यहरु , विभिन्न मन्त्रालयका मन्त्रीहरु , विभिन्न आयोगका प्रमुखहरु , लेखानिरिक्षक तथा महासचिवको पदका लागि अनुकूल व्यक्तिलाई अनुमोदन गर्ने ; केन्द्रीय सैन्य आयोगका अध्यक्षको मनोनयन गर्ने ; केन्द्रीय सैन्य आयोगका अध्यक्षको सिफारिश बमोजिम सो आयोगका अन्य सदस्यहरु निश्चित गर्नका लागि अनुकूल व्यक्तिलाई नियुक्त गर्ने ; सर्वोच्च जन अदालतका प्रमुखको मनोनयन गर्ने र सर्वोच्च जन-न्यायाधिवक्तालयका प्रमुखको मनोनयन गर्ने अनि उपरोक्त व्यक्तिलाई बरखास्त गर्ने आदि अधिकार पनि यसले उपयोग गर्दछ ।
प्रान्त , स्वायत्त प्रदेश तथा केन्द्रशासित शहरको स्थापनाको अनुमोदन गर्ने र विशेष प्रशासनिक क्षेत्रको स्थापना एवम् त्यसको व्यवस्था सम्बन्धी निर्णय गर्ने ; युद्ध र शान्ति सम्बन्धी विषयको निर्णय गर्ने ।
        सर्वोच्च राजसत्तासम्पन्न अंगले उपयोग गर्नुपर्ने अन्य हक-अधिकारहरु राष्ट्रिय जन-कांग्रेसको अधिकार क्षेत्रभित्र पर्दछन् ।
राष्ट्रिय जन-कांग्रेसको सम्मेलन हरेक वर्षको पहिलो त्रैमासिक अवधिमा आयोजित हुने गर्दछ ।