CRI
चीनका विभिन्न वंशका
सम्राटहरुका समाधिस्थलहरुमा मिंग
वंश (सन 1368-1644)का सम्राटहरुका
समाधिस्थलहरु सबैभन्दा राम्रोसँग
र पूर्ण रुपमा सुरक्षित रहेका छन।
तीमध्ये चु लिंग नामको
समाधिस्थललाई “मिंग वंशको पहिलो
समाधिस्थल” भनिन्छ। यो नै मिंग
वंशको स्थापना गर्ने सम्राट चु
युआन चांगले आफ्ना पूर्खाका लागि
निर्माण गरेको समाधिस्थल हो। चीनको
इतिहासमा श्री चु युआन चांग (सन
1368-1398) एकजना धेरै गोप्य कुरा
भएका सम्राट थिए। उनको परीवार निकै
गरिब थियो। पहिले उनी बाँच्नका
लागि एउटा मन्दिरमा भिक्षु बनेका
थिए। त्यसपछि उनी युआन वंश (सन
1271-1368) को विरोध गर्ने
किसानहरुको विद्रोही सेनामा भर्ना
भएका थिए। बहादुर र बुद्धिमान भएका
कारण श्री चु युआन चांग एकजना
सामान्य सैनिकबाट किसानहरुको
बिद्रोही सेनाका नेता बनेका थिए।
सन 1368 मा उनले सम्राटको
सत्तासम्म पुगी अन्त्यमा चीनको
एकीकरण गरेका थिए।
श्री चु युआन चांग सम्राट बनेपछि आफ्ना पूर्खाको
स्मृतिमा आफ्ना बाजे आदिका लागि
पोशाक समाधिस्थलको निर्माण गरे।
पोशाक समाधिस्थल भनेको स्वर्गबास
भैसकेका व्यक्तिहरुका पोशाक र टोपी
आदिलाई गाडिएको समाधिस्थल हो।
वास्तवमा श्री चु युआन चांगका
बाजेलाई चु लिंग समाधिस्थल रहेको
ठाउँमै समाधिष्ट गरिएको थियो।
मिंग वंशको चु लिंग समाधिस्थल पूर्वी चीनको स्यु यी
जिल्लामा पर्ने प्राचीन कालको स
चु शहरमा पर्दछ। त्यसको छेऊमा
चीनका चारवटा ठूलाखाले
तलाउहरुमध्येको एक हुँ च हु तलाउ
रहेको छ। चु लिंग समाधिस्थलको
निर्माण गर्न अठ्ठाइस वर्ष लागेको
थियो। ऐतिहासिक सामग्रीका अनुसार,
चु लिंग समाधिस्थलका तीनवटा भित्ता
र तीनवटा पुल हुनुका साथै हजारौं
भवन, विश्राम स्थल र अन्य कक्षहरु
छन। सो समाधिस्थल निकै विशाल तथा
शान्दार देखिन्छ। चु लिंग
समाधिस्थलमा दुइ सय पचास मिटर लामो
एउटा “देव-मार्ग” छ। सो मार्गको
दक्षिणतिर समाधिस्थलको ढोका छ भने
उत्तरतिर श्री चु युआ चांगका
पूर्खालाई समाधिष्ट गरिएको भूमिगत
भवन छ। बाटाका दुबैतिर बयालिसवटा
ढुंकागा मूर्तिहरु छन। तीमध्येका
हरेक ढुंगाका मूर्तिको तौल केही
टन छ। ती मूर्तिहरु निकै बलिया र
बहादुर देखिन्छन।
मिंग वंशको चु लिंग“देव-मार्ग”
सन 1680 मा आएको ठूलो बाढीमा
मिंग वंशको चु लिंग समाधिस्थल
हुँ च हु तलाउमा डुबेको थियो र
पानीमुनि रहेको समाधिस्थल बनेको
थियो। सन 1963 मा हुँ च हु तलाउ
क्षेत्रमा परेको सुख्खाका बेला
हुँ च हु तलाउको पानी सुकेर कम
भएको थियो। यसबाट केही ठूला
ढुंगाका मूर्तिहरु पानीको सतहमा
देखिएका थिए। ती ढुंगाका
मूर्तिहरुमा सिंह र घोडा आदि
जनावर हुनुका साथै मन्त्री
लगायतका व्यक्तित्वहरु पनि छन।
तिनको अग्लाई तीन मिटरभन्दा बढी
छ भने तौल दश टन जति छ। मिंग
वंशको चु लिंग समाधिस्थलमा
जमीनमुनि निर्माण गरिएका भवनहरु
भत्केका थिए तर भूमिगत
क्षेत्रमा निर्माण गरिएका
वास्तुहरु भने राम्ररी सुरक्षित
थिए। यसका साथै सो समाधिस्थलमा
प्रशस्त पूरातात्विक वस्तुहरु
पनि गाडिएको पाइएको छ।
हालसम्म पनि चु लिंग समाधिस्थल कम गहिराइको
पानीमुनि नै छ। पानीको सतहबाट
तल हेर्दा त्यस समाधिस्थलको
ढुंगाको ढोका देख्न पाइन्छ।
त्यो पानी कहिल्यै पनि पूर्ण
रुपमा सुकेन। दीर्घकालसम्म
हावाको प्रभावमा नपरेको र
पानीमै रहेकाले चु लिंग
समाधिस्थल राम्ररी सुरक्षित
रहेको ठहर विश्लेषकहरुले गरेका
छन।
सन 1963 पछि हुँ च हु तलाउ क्षेत्रमा सन 1993 र
2001 मा दुइ पटक सुख्खाको
प्रकोप देखा परेको थियो। सन
2001 को सुख्खाका बेला मिंग
वंशको चु लिंग समाधिस्थलको 1178
मिटर लामो भित्ता देखिएको थियो।
सो समाधिस्थल रहेको प्राचीन
कालको स चु शहर तिनताका निकै
समृद्ध थियो। सन 1963 मा परेको
सुख्खाका बेला सो समाधिस्थलको
भित्ता र केही अन्य वास्तुहरु
पनि देखिएका थिए। जमिनमा
निर्माण गरिएका ती वास्तुहरु
ध्वस्त भए तापनि त्यसको परिमाण
र समृद्धिको अवस्था बारे अनुमान
गर्न सकिन्छ। प्राचीन स चु शहर
बाढीबाट ध्वस्त भएको थिएन, तर
क्रमशः बालुवामा गाडिएको थियो।
त्यसैले विश्लेषकहरुले प्राचीन
स चु शहरलाई पानीबाट बाहिर
निकालेपछि पूर्व आकृति बमोजिम
त्यसको मरम्मत गर्न सकिने विचार
व्यक्त गरेका छन। प्राचीन कालमा
इटलीको प्रसिद्ध शहर- फाँग पै
ज्वालामुखीका कारण जमिनमुनि
गाडिनपुगेको थियो। त्यसको
उत्खनन गरिएपछि विश्व
आश्चर्यचकित भएको छ। सम्बन्धित
विद्बानहरुको विचारमा चीनको
मिंग वंशको स चु शहर र प्राचीन
इटलीको फाँग पै शहर बीच केही
समानता थियो। त्यसैले प्राचीन स
चु शहरलाई “चीनको फाँग पै शहर”
भनिन्छ।
|