CRI
चीनको नो सी अर्थात् भूत-पिसाच
भगाउने ओपेराको इतिहास निकै लामो
छ जसको उत्पत्ति आदिम समाजको
टोटेमभक्त पूजा-आराधनाबाट भएको
हो। शाँग राज्य (इशा पूर्व 1600
देखि इशा पूर्व 1046सम्म) मा
भूत-पिसाच भगाउनका लागि र रोग
व्याधी हटाउनका लागि नियमित
रुपमा पूजा-आजा गर्ने संस्कारको
विकास भएको थियो। यो नै थियो नो
ऊ अर्थात् प्राचीन कालमा
पूजा-आजा गर्दा मुकुण्डो लगाएर
भूत-पिसाच भगाउन नाच्ने नाच।
यस्तो नो ऊले चीनको स्थानीय
ओपेराको विकासमा ठूलो प्रभाव
पारेको थियो।
नो सी भनेको नो ऊको आधारमा
विकसित भएको ओपेरा नै हो। यसमा
अभिनय गर्दा
अभिनेता-अभिनेत्रीहरुले काठको
मुकुण्डो लगाएर भूत-पिसाच र
देवी-देवताको रुपमा नाच्दै
देवी-देवताले भूत-पिसाचसँगको
लडाईंमा विजय हासिल गरेको
लोक-कथा प्रस्तुत गर्दछन्।
दक्षिण-पश्चिमी चीनको क्वै
चौ प्रान्तको उत्तर-पूर्वी भागमा
हालसम्म पनि नो सँस्कृतिका
प्रशस्त अवशेषहरु संरक्षित छन।
धेरै ठाउँहरुमा नो सी अर्थात
भूत-पिसाच भगाउने ओपेरा
देखाइन्छ। त च्याँग जिल्लामा
अहिलेसम्म पनि साठीवटाभन्दा बढी
नो सी ओपेरा मण्डलीहरु छन् र
तिनका अभिनेता-अभिनेत्रीहरुको
संख्या एक सयभन्दा बढी छ। त
च्याँग जिल्लाको नो सी ओपेरा
प्राचीन, सोझो र ग्राम्य हुनुका
साथै यसमा नो सी अर्थात्
भूत-पिसाच भगाउने ओपेरा
सँस्कृतिमा पाइने बढ्ता आदिम
रुप संरक्षित रहेको छ।
पूजा-आराधनाका विधि पनि निकै
विविध र जटिल छन।
क्वै चौ प्रान्तको नो सी ओपेरामा
प्रयोग हुने मुकुण्डोहरु
प्रायजसो बैंस र सेतो चिनारको
काठबाट बनाइएका हुन्छन। मुकुण्डो
बनाउँदा ओपेराका पात्रहरुको
स्वभावको चित्रणमा बढी ध्यान
दिइएको हुन्छ। यस्ता
मुकुण्डोहरुलाई निम्न किसिममा
विभाजित गर्नसकिन्छ: असल देवता,
क्रूर पिसाच, सामान्य मुकुण्डो,
हाँसो उठाउने पात्रले लगाउने
मुकुण्डो, गोरुको टाउको तर
अनुहार घोडाको भएको मुकुण्डो आदि।
असल देवताको मुकुण्डोबाट सरलता
र भलाद्मीपन देखाइन्छ।
यस चित्रमा देखाइएको मुकुण्डो
हेर्दा ज्यादै प्रतिष्ठित,
साहसिलो, अनौठो देखिन्छ। कालो
अनुहार टल्किरहेको देखिन्छ।
त्यसको आँखाको नानी बाहिर
निस्केको छ, दाँत बाहिर निस्केका
छन्, मुख आँ गरी खोलिएको छ र
आँखी भौं माथितर्फ उठेका छन्।
मुकुण्डोको कुँदाई छरितो छ।
त्यसको अनौठो र हृष्ठपुष्ठ
चेहराबाट दर्शकहरुलाई रहस्यमय
पौरुष र प्राकृतिक सौन्दर्य
झल्किन्छ।
|