CRI
कपडाको बाघ चीनको लोक-दुनियाँमा
व्यापक रुपमा प्रचलित रहिआएको
एक खेलौना हो। चिनियाँहरुको
दिमागमा बाघ भूत-पिसाच र
प्रकोपलाई पन्छाउने साथै कुशलता
र लच्छिनको प्रतीक हो साथै
त्यसले धन-सम्पतिको रक्षा-जोगाड
गर्ने काम पनि गर्दछ। चिनियाँ
पात्रो अनुसार पाँचौ महिनाको
पाँचौ दिनमा पर्ने तुआन ऊ भन्ने
चाडको बेलामा लोक-दुनियाँमा
वाल-वालिकालाई कपडाको बाघ बनाउने
वा लाल हरितालले वाल-वालिकाको
निधारमा बाघको अनुहार कोर्ने
चलन छ। त्यसबाट मानिस स्वस्थ,
बलियो र साहसी हुने विश्वास
गरिन्छ। कपडाको बाघमा एक-टाउके
बाघ, दुइ-टाउके बाघ, चार-टाउके
बाघ, बघिनी, तकियाका लागि बाघ र
सेटदार बाघ गरी किसिम-किसिमका
बाघ रहेका छन्।
कपडाको बाघ बनाउन प्रयोग गरिने सामग्री र
शीप-कला फरक-फरक छ। प्रायजसो
देखिने बाघ कपडा वा रेशमी
कपडाबाट बनाइएको हुन्छ, त्यस्ता
कपडाबाट बाघको रुप-आकारमा सिएपछि
त्यसभित्र काठको धूलो वा भुस
भरेर अनि कपडामा रंगीन बुट्टा
कोर्ने, कारचोपी भर्ने, कैंचीले
प्वाल पार्ने, टाँस्ने, कुँद्ने
र टाटो हाल्ने जस्ता तरिकाद्बारा
बाघका आँखा, मुख, नाक, कान र अरु
बुट्टाहरु कोरेर बाघको रुप
दिइन्छ। कपडाको बाघको टाउको निकै
ठूलो, मुख निकै ठूलो र पुच्छर
निकै ठूलो भएमा त्यो निकै
शक्तिशाली र साहसिलो भएको
मानिन्छ। बाघको टाउको र अनुहारका
सबै अवयवहरु माया लाग्दा हुन्छन
र त्यसमा मायालु केटाकेटीपन
झल्किन्छ।
तुआन ऊ चाड बाहेक वसन्त चाड,
युआन स्याओ अर्थात् दिपावली आदि
अरु चाडबाडको बेला तथा नयाँ
बच्चा जन्मिएको तेश्रो दिन,
सयौं दिन, जन्मिएको एक वर्ष र
दुइ वर्षका बेलामा पनि
मानिसहरुले सधैं नै विभिन्न
आकारका कपडाका बाघ बनाउने
गर्दछन्। यसबाट पनि
भूत-पिसाचलाई भगाउने-पन्छाउने,
रोग व्याधीदेखि हटाउने र
आशीर्वाद दिने अर्थ बुझाइएको छ।
|