CRI
लोंग मन ढुङ्गे गुफा मध्य चीनको
ह नान प्रान्तको लो यांग शहरदेखि
साढे बाह्र किलोमिटर दक्षिणमा
पर्दछ। सो गुफा लोंग मन
भञ्ज्याङमा पूर्व-पश्चिम फर्केर
दुइ पहाडका बीचमा अवस्थित भएका
कारण चीनको थांग वंशपछि सो
गुफालाई प्रायजसो “लोंग मन”
ढुङ्गे गुफा भनिन्छ। सो गुफा
यातायातका महत्वपूर्ण ठाउँमा
रहेको, त्यहाँबाट सुन्दर दृश्य
देखिने र त्यहाँको मौसम निकै
राम्रो भएकाले त्यसलाई कलाकार र
लिपीकारहरुका लागि पर्यटनको थलो
मानिएको छ। त्यस ठाउँका ढुङ्गा
राम्रा भएका कारण प्राचीन कालका
मानिसहरुले त्यस ठाउँमा ढुङ्गे
गुफा बनाएका थिए।
लोंग मन
ढुङ्गे गुफा कान सु प्रान्तको
तुंग व्हांग मो काऊ गुफा र वल्लो
शान सीको ता थोंग ढुङ्गे
गुफालाई “चीनको ढुङ्गे-कलाका
तीनवटा ठूला भण्डार” मानिन्छ।
लोंग मन गुफाको निर्माण कार्य
सन् 471देखि थालिएको थियो र
त्यसलाई पूर्णता दिनका लागि
चारसय वर्षभन्दा बढी समय लागेको
थियो। हालसम्म त्यस गुफाको
इतिहास एक हजार पाँच सय वर्ष
लामो भैसकेको छ। लोंग मन ढुङ्गे
गुफा दक्षिणदेखि उत्तरसम्म लगभग
एक किलोमिटर लामो छ। हाल त्यहाँ
संरक्षित ढुङ्गे गुफाहरुको
संख्या एक हजार तीन सयभन्दा बढी
छ। साना-साना मूर्ति राख्नका
लागि गुफामा बनाइएका साना-साना
प्वालहरुको संख्या दुइ हजार तीन
सय पैतालिस छ। गुफाका भित्तामा
कुँदिएका लिपी र अन्य ग्रन्थहरु
तीन हजार छ सयभन्दा बढी छन्।
गुफामा पचासवटाभन्दा बढी
वौद्ध-स्तूपहरु रहेका छन् भने
त्यहाँ सन्तानब्बे हजारवटाभन्दा
बढी वौद्ध-मूर्तिहरु छन्। लोंग
मन गुफाका सबैभन्दा प्रसिद्ध
गुफामा पिन यांग गुफा, फंग
स्येन गुफा र कु यांग गुफा रहेका
छन।
पिन यांग गुफाले
उत्तरी वै वंशको प्रतिनिधित्व
गरेको छ। त्यस गुफाको निर्माणका
लागि जम्मा चौबिस वर्ष लागेको
थियो। सो गुफा सबैभन्दा पहिले
बनाइएको गुफा पनि हो। गुफामा
एघारवटा ठूला वौद्ध-मूर्तिहरु
छन्। मध्येमा रहेको मुख्य मूर्ति
गौतम बुद्धको मूर्ति हो। त्यो
मूर्ति उत्तरी वै वंशको
मध्यकालमा ढुङ्गामा कुँद्ने
कलाको उत्कृष्ट नमूना हो। गौतम
बुद्धको मूर्ति अगाडि दुइवटा
बहादुर ढुङ्गे सिंह अवस्थित छन्।
मूर्तिका बायाँ र दायाँ दुइजना
चेला र दुइजना बुद्ध उभिएका छन।
ती मूर्तिहरु वास्तविक जस्ता र
निकै शान्दार देखिन्छन। गुफामा
धर्म-शास्त्र सुनिरहेका चेलाका
मूर्तिहरु पनि कुँदिएका छन।
गुफाको माथिल्लो भागमा कुँदिएका
अप्सराका चित्रहरु पनि ज्यादै
सुन्दर र भव्य देखिन्छन।
(चित्र:पिन
यांग गुफा)
फंग स्येन गुफा लोंग मन ढुङ्गे
गुफामा रहेको सबैभन्दा ठूलो गुफा
हो। सो गुफाले थांग वंशकालको
ढुङ्गे कलाको प्रतिनिधित्व गरेको
छ। सो गुफाको लम्बाइ र चौडाइ
तीस-तीस मिटर छ। सो गुफामा रहेका
मूर्तिहरु कलाको एउटा ज्यादै
सुन्दर र सुमधूर समूह हो। ती
मूर्तिहरुमध्ये “लु श ना” नामक
मूर्ति अझ कलाको एउटा सुन्दर
नमूना हो। “लु श ना” मूर्ति
झण्डै सत्र मिटर अग्लो छ। त्यो
मूर्ती निकै शानदार, भव्य र
गम्भीर देखिन्छ। विशेष गरी,
मूर्तिका ज्ञानबर्द्धक आँखामा
उत्कृष्ट कलाको समायोजन
देख्नपाइन्छ।
कु यांग गुफा लोंग मन ढुङ्गे गुफामा
सबैभन्दा पहिले बनाइएको गुफा
हो। सो गुफामा प्रशस्त विषय
समावेश छन जुन उत्तरी वै वंशको
प्रतिनिधित्व गर्ने अर्को
महत्वपूर्ण गुफा हो। सो गुफामा
वौद्ध-मूर्ति राख्नका लागि
बनाइएका धेरै साना खोपाहरु छन्।
प्रत्येक खोपामा मूर्ति कुँद्ने
कलाकारको नाम र कुँदिएको समय पनि
लेखिएको छ। यी सामग्री उत्तरी
वै वंशको लिपीकला र कुँदाइ कलाको
अध्ययनका लागि मूल्यवान सामग्री
हुन। चीनको लिपीकलाको इतिहासमा
ढुङ्गे कोष अर्थात् “लोंग मनका
बीसवटा किसिम”लाई प्रायजसो यहाँ
समेटिएको छ। “लोंग मनका बीसवटा
किसिम” उत्तर वै वंशको लिपीकलाको
प्रतिनिधित्व गर्ने कला थियो
जुन लोंग मन ढुङ्गे गुफामा
कुँदिएको लिपीकलाको महत्वपूर्ण
र मूल्यवान अंग पनि हो। पछिका
बासिन्दाहरुले सो लिपीको
प्रसार-प्रचार गर्दैआएका छन।
लोंग मन ढुङ्गे गुफामा धर्म, चित्रकला,
लिपीकला, संगीत, लुगाफाटा, औषधी,
वास्तु र चिनियाँ तथा विदेशी
यातायात लगायतका विभिन्न क्षेत्रहरुका
अधिकाँश ऐतिहासिक सामग्रीहरु पनि
संरक्षित गरिएका छन। यसैले सो
ढुङ्गे गुफा ढुङ्गे कलाको एउटा
विशाल संग्रहालय पनि हो।
लोंग मन ढुङ्गे गुफालाई सन् 2000 को
नोभेम्बर 30 तारिखका दिन विश्व
साँस्कृतिक सम्पदाको सम्बन्धित
मापदण्ड अनुसार “विश्व सम्पदा
सूची”मा समावेश गरिएको छ। विश्व
सम्पदा परिषद्ले लोंग मन ढुङ्गे
गुफामा रहेका गुफाहरु र
मूर्तिहरुबाट चीनको उत्तरी वै
वंशको अन्त्यदेखि थांग वंशसम्मका
सबैभन्दा श्रेष्ठ कला
प्रतिबिम्बित भएको भनी
मूल्यांकन गरेको छ। साथै सो
परिषद्ले चीनको वौद्ध धर्मको
व्याख्या गरिने यस कला-ग्रन्थले
चीनको ढुङ्गे कलाको सर्वोच्च
स्तरको प्रतिनिधित्व गरेको
विचार पनि व्यक्त गरेको छ।
|