CRI
युन कांग ढुङ्गे गुफा उत्तरी
चीनको वल्लो शान सी प्रान्तको
ता थोंग शहरदेखि सोह्र किलोमिटर
दक्षिणमा पर्ने उ चौ पहाडको
फेदीमा पर्दछ। सो गुफाको
निर्माण कार्य उत्तरी वै
वंशकालदेखि शुरु गरिएको थियो।
सन् 520 देखि 525सम्मको अवधिमा
त्यस गुफाभित्र मूर्ति स्थापना
गर्ने काम पूरा भइसकेको थियो।
पूर्व-पश्चिम फैलिएको सो गुफा
एक किलोमिटर लामो छ। सो गुफामा
निकै प्रशस्त
ऐतिहासिक-पूरातात्त्विक विषयहरु
समावेश छन्। त्यहाँ संरक्षित
मुख्य गुफाहरुको संख्या हाल 45
छ। त्यसमा मूर्ति राखिने ठूला
वा साना खोपाहरुको संख्या 252
छ। त्यहाँ भएका ढुङ्गे
मूर्तिहरुको संख्या जम्मा 51
हजारभन्दा बढी छ। ती
मूर्तिहरुमध्ये सबैभन्दा ठूलोको
उचाइ सत्र मिटर छ भने सबैभन्दा
सानो मूर्तीको उचाइ केही
सेन्टीमिटर मात्र छ। गुफामा
रहेका बुद्ध र अप्सराका मूर्ति
साँच्चै जस्ता देखिन्छन र
भित्तामा कुँदिएका चित्रहरु पनि
रोचक देखिन्छन। त्यस गुफा छिन,
हान, स्वै र थांग वंशका विभिन्न
शैली र विशेषताको सम्मिश्रण हो।
त्यस गुफा कान्सु प्रान्तको मो
काऊ गुफा र ह नान प्रान्तको
लोंग मन ढुङ्गे गुफा सहित "चीनका
तीनवटा ठूला ढुङ्गे गुफा समूह"
भित्र पर्दछ। यो गुफा
विश्वप्रख्यात पाषाण-कलाका
भण्डारहरुमध्येको एक पनि हो।
युन कांग ढुङ्गे गुफामा
राखिएका मूर्तिहरु शानदार छन।
ती मूर्तिहरुबाट पाँचौं
शताव्दीमा चीनको पाषाण-कलाको
सर्वोच्च स्तर प्रतिबिम्बित भएको
छ। ती गुफाहरुको निर्माण-समयका
आधारमा तीनलाई अघिल्लो, मध्य र
पछिल्लो गरी तीन अवधिमा विभाजित
गरिएको छ। विभिन्न अवधिको
पाषाण-कलाको भिन्नाभिन्नै
विशेषता छ। अघिल्लो अवधिका
मूर्तिहरुमा चीनको पश्चिमी
क्षेत्रको गहन शैली देखिन्छ भने
मध्य-अवधिका कलामा सुन्दरता
थपिएको छ र पहिलेको शैलीमा धेरै
सुधार गरिएको छ। त्यसमा उत्तर
वै वंश कालको जटिल, परिवर्तित र
सुमधुर कला शैली प्रतिबिम्बित
भएको छ। पछिल्लो अवधिका
मूर्तिहरु साना भए तापनि दुब्ला
र सुन्दर देखिन्छन। यो उत्तरी
चीनको पाषाण-कलाको नमूना हो। यस
बाहेक, ढुङ्गे गुफामा कुँदिएका
नाच-गानसँग सम्बन्धित चित्रहरुले
पनि त्यस बेला वौद्ध धर्मको
प्रसार-प्रचार र उत्तरी वै
वंश-कालको सामाजिक जीवनको
चित्रण गरेका छन।
युन कांग ढुङ्गे गुफामा भारत र मध्य
एशियाको वौद्ध धर्मसँग
सम्बन्धित कला चिनियाँ
वौद्ध-कलातिर विकसित हुने
ऐतिहासिक प्रक्रिया दर्शाइएको
छ। त्यस प्रक्रियामा वौद्ध
धर्मले चिनियाँ विशेषता हासिल
गर्नलागेको अवस्थालाई देखाउन
खोजिएको छ। यस अघि कुनै पनि
गुफामा यती धेरै प्रकारका बुद्ध
मूर्तिहरु देख्नपाइँदैनथ्यो।
युन कांग ढुङ्गे गुफाको शैली
चीनको वौद्ध धर्म कलाको विकासको
मोड-विन्दु बनिसकेको थियो। मो
काऊ गुफा र लोंग मन ढुङ्गे
गुफामा भएका उत्तर वै वंश-कालका
मूर्तिहरुको शैली पनि युन कांग
ढुङ्गे गुफाको जस्तै छ।
युन कांग ढुङ्गे गुफा ढुङ्गे गुफा-कलामा
चिनियाँ विशेषताको उत्पत्तिको
शुरुवात हो। मध्य अवधिमा ढुङ्गे
गुफामा उत्पन्न भएको चिनियाँ
ढाँचाको दरबार-वास्तु शैली र यस
आधारमा विकसित भएको बुद्धका
मूर्ति राख्ने चिनियाँ शैलीका
खोपाहरु बनाउने तरिकालाई पछिका
ढुङ्गे गुम्बाहरुको निर्माणमा
विस्तृत रुपमा प्रयोग गरिएको
थियो। युन कांग ढुङ्गे गुफाको
पछिल्लो अवधिमा ढुङ्गे
गुफाभित्र सजाइएका वस्तुहरुबाट
चिनियाँ ढाँचाको वास्तु शैली अझ
स्पष्ट भएको छ।
युन कांग ढुङ्गे गुफालाई सन् 2001को
डिसेम्बर महिनामा "विश्व सम्पदा
सूची"मा समावेश गरिएको छ। विश्व
सम्पदा परिषद्ले चीनको वल्लो
शान सी प्रान्तको ता थोंग शहरको
युन कांग ढुङ्गे गुफालाई पाँचौं
शताव्दीदेखि छैठौं शताव्दीसम्मको
अवधिमा चीनको वौद्ध धर्मको
उत्कृष्ट पाषाण-कलाको
प्रतिनिधिका रुपमा मूल्यांकन
गरेको छ। विशेष गरी, तीमध्येको
"थान याऊ उ खु" भन्ने गुफा,
चीनको वौद्ध धर्म कलाको
उत्कृष्ट ग्रन्थ नै हो।
|