दक्षिणी भेगको पानी उत्तरतिर पठाउने परियोजना

CRI

            चीनको दक्षिणी भेगमा प्रशस्त पानी छ भने उत्तरी भेगमा पानी कम छ। दक्षिणी भेगमा बग्ने खोला-नाला तथा ताल-तलैयाको पर्याप्त जल-श्रोतलाई उत्तरी भेगका पानीको अभाव हुने ठाउँसम्म पुर्‍याउन भनेर चीनका वैज्ञानिक-प्राविधिज्ञहरुले विगत 50 वर्षमा लगनशील सर्भेक्षण र नाप-जाँच गरेपछि दक्षिणी भेगको पानी उत्तरतिर पठाउने परियोजनाको निर्माण कार्य शुरु गरेका छन्।

            सो परियोजना अन्तर्गत पूर्वी, मध्यम र पश्चिमी गरी तीनवटा जल-मार्गमार्फत पानी पठाइन्छ। ती तीनवटा जल-मार्गलाई याङत्सी, ह्वाङ ह, ह्वाइ ह तथा हाइ ह यी चारवटा ठूला नदीसँग जोडेर "दक्षिणबाट उत्तरतिर बग्ने तीनवटा जल-मार्ग र पश्चिमदेखि पूर्वतिर बग्ने चारवटा नदी"का आधारमा मूल बनोट तयार भएपछि चीनको जल-श्रोतका सम्बन्धमा दक्षिण र उत्तर अनि पूर्व र पश्चिम बीच समुचित पाराबाट तालमेल मिलाउने किसिमको पूर्ण जल-संरचना बनाउन अनुकुल हुनेछ।

           पूर्वी जल-मार्ग आयोजना अन्तर्गत याङत्सी नदीको तल्लो भागमा पर्ने याङ चौ भन्ने ठाउँबाट नदीको पानीलाई पैचिङ तथा हाङ चौ शहरलाई जोड्ने ठूलो नहर तथा त्यसको समानान्तरमा रहेका जल-मार्गमार्फत क्रमबद्ध ढंगले पानीलाई माथि तान्ने प्रिवधिमार्फत उत्तरतिर पठाउने गरिन्छ, यस सिलसिलामा पानी घट-बढ गर्ने भूमिका निर्वाह गर्ने होङ-च, लो-मा, नान-स तथा तोङ-फिन आदि तालसित पनि त्यसलाई जोडिन्छ। यसरी ल्याइएको पानी फेरि दुइ मार्गमार्फत पठाउने क्रममा एउटा जल-प्रवाह उत्तरतिर लागेर ह्वाङ ह नदी पार गरेर जान्छ भने अर्को जल-प्रवाह पूर्वतिर लागेर च्याओ-तोङ एरिया हुदै शान-तुङ प्रान्तको येन-थाइ र वै-हाइ पुग्छ।

          मध्य जल-मार्ग आयोजन अन्तर्गत तान-च्याङ-खौ जल-भण्डारबाट तानेर ल्याइएको पानी क्वाङ-चौ शहरदेखि पैचिङ पुग्ने रेलमार्गको छेउछाउमा रहेको जल-मार्गबाट उत्तरतिर बग्दै स्वतः पैचिङ र थेन-चिङ शहरसम्म पुग्नसक्दछ।

         पश्चिमी जल-मार्ग आयोजन अन्तर्गत याङत्सी नदीको माथिल्लो खण्ड थोङ-थेन नदी, त्यसका शाखा या-लोङ नदी तथा ता-तु नदीको माथिल्लो भागमा बाँध बाँधेर जलाशय तयार पारी याङत्सी नदीको पानी ह्वाङ ह नदीमा लगिन्छ।

        निर्धारित योजना अनुसार सन् 2050सम्ममा पूर्वी, मध्य र पश्चिमी जल-मार्गबाट क्रमशः 14 अरब 80 करोड, 13 अरब र 17 अरब क्यूबिक मिटर गरी जम्मा 44 अरब 80 करोड क्यूबिक मिटर पानी निर्धारित लक्ष्यतिर पठाइनेछ।

       उक्त सम्पूर्ण परियोजना वास्तविक अवस्था हेरी चरणबद्ध रुपमा लागू हुनेछ र हालसम्म पूर्वी तथा मध्य जल-मार्ग अन्तर्गत चारवटा अलग-अलग आयोजनको निर्माण कार्य शुरु भइसकेको छ।


सो परियोजना अन्तर्गत पूर्वी जल-मार्गमा बनाइएको स याङ जल-सम्भार केन्द्र

सो परियोजना अन्तर्गत पूर्वी जल-मार्गमा बनाइएको ह्वाइ-आन-सम्भार केन्द्र