पश्चिमी भेगको ग्यास पूर्वतिर पठाउने परियोजना

CRI


       "पश्चिमी भेगको ग्यास" खास गरी चीनका सिन्च्याङ, छिङहाइ, छ्वान-यू तथा अरदोस यी चारवटा ठूला ग्यास क्षेत्रबाट उत्पादित ग्यासलाई प्राकृतिक ग्यास भन्ने गरिएको छ भने "पूर्वतिर पठाउने" भन्दा मुख्यतः उपरोक्त क्षेत्रहरुमा उत्पादित प्राकृतिक ग्यासलाई पूर्वी चीनको याङत्सी नदीको डेल्टा क्षेत्रमा पठाउने योजना भन्ने बुझिएको छ।

         चीनको मध्य तथा पश्चिमी भेगमा पेट्रोल तथा प्राकृतिक ग्यासको ढुकुटी भएका छवटा ठूला उपत्यका छन्। ती उपत्यका था-लि-मु, च्वन-क-र, थु-हा, छाइ-ता-मु, अ-र-दो-स र स-छ्वान भनेर चिनिन्छन्। अड्कल गरिए अनुसार, ती ठाउँहरुमा 224 खरब क्यूबिक मिटर जति प्राकृतिक ग्यास निहित छ जुन चीनभरिमा रहेको त्यस्तो श्रोत-साधनको कूल परिमाण 380 खरब क्यूबिक मिटरको 58.9 प्रतिशत हुन आउँछ। चीन सरकारले प्राकृतिक ग्यासको श्रोत-साधन सम्बन्धी अवस्था तथा सर्भेक्षण सम्बन्धी स्थिति हेरेर नै पश्चिमी भेगको ग्यास पूर्वीतिर पठाउने परियोजनालाई परिचालित गरिहाल्ने निर्णय गरेको छ जसअनुसार यथाशक्य चाँडै श्रोत-साधन सम्बन्धी अनुकूलतालाई आर्थिक अनुकूलताका रुपमा परिणत गराउने गरी प्राकृतिक ग्यासका लागि पूर्वी भेगको उत्कट चाहना पूरा गर्न सकियोस् भनेर यस अघि बनाइसकिएको शान्सी-पैचिङ पाइप-लाइनभन्दा बाहेक था-लि-मुदेखि शाङहाइसम्म, छिङहाइको स-पैदेखि सि-निन हुँदै कान्सुको लान-चौसम्म र छोङ-छिङको चोङ जिल्लादेखि हु-पैको वुहानसम्म पुग्ने अरु तीनवटा प्राकृतिक ग्यास पठाउने पाइप-लाइन पनि बनाइनेछ। अझ विस्तृत परिधिलाई दृष्टिगत गरेर हेर्ने हो भने अब योजनामा उल्लिखित रुसको पश्चिम साइबेरियाबाट प्राकृतिक ग्यास ल्याइने प्रस्तावित पाइप-लाइनलाई पनि निर्माणाधीन परियोजनाको मुख्य लाइनसित जोडिनेछ, साथै रुसको पूर्वी साइबेरिया क्षेत्रबाट प्राकृतिक ग्यास ल्याइने पाइप-लाइन निर्माण सम्बन्धी योजना पनि बनाइँदैछ। यी दुइवटा पाइप-लाइन परियोजनालाई पनि "पश्चिमी भेगको ग्यास पूर्वतिर पठाउने" परियोजना अन्तर्गत राखिने भएको छ।

       अलि सीमित परिधिका आधारमा भन्ने हो भने पश्चिमी भेगको ग्यास पूर्वतिर पठाउनु भनेको सिन्च्याङको था-लि-मुदेखि शाङहाइ वरपर याङत्सी नदीको डेल्टासम्म पुग्ने ग्यास-परिवहन परियोजना भनेर विशेष रुपमा समेत अर्थ्याउने गरिन्छ। यस पाइप-लाइनको कूल लम्बाई 4200 किलोमिटर पुग्दछ भने पाइपको व्यास चाहिँ 1118 सेन्टिमिटर छ। सिन्च्याङ, कान्सु, निनस्या, पल्लो शान्सी, वल्लो शान्सी, हनान, आन्-ह्वै, च्याङ-सु र शाङहाइ गरी 9 वटा प्रान्त तथा स्वायत्त प्रदेशमा हुदैजाने यस पाइप-लाइनबाट वार्षिक 12 अरब क्यूविक मिटर प्राकृतिक ग्यास पठाउन सकिन्छ। अचल सम्पत्तिका लागि नै 38 अरब 40 करोड चिनियाँ युआन लगाइनुपर्ने यस निर्माण कार्य अन्तर्गत शहरभित्रको पाइप-सञ्जाल र औद्योगिक सदुपयोग जस्ता सम्बन्धित थप आयोजन पनि मिलाएर हिसाब गर्दा यसको कूल लागत 1 खरब 20 अरब युआन पुग्नसक्नेछ।

      अहिलेसम्म यस परियोजना अन्तर्गत कूल लगानीको 48 प्रतिशत बराबरको काम पूरा भइसकेको छ। यसको पूर्वी खण्डको निर्माण पूर्ण रुपमा समाप्त भई त्यसबाट पूर्वी चीनका सम्बन्धित क्षेत्रका लागि ग्यास उपलब्ध गराउने काम पनि शुरु भैसकेको छ।
 

(फोटोको व्याख्या--सन् 2004को पहिलो दिन उक्त परियोजनाको पूर्वी लाइनबाट शाङहाइका लागि ग्यास पठाउन शुरु हुँदाको दृश्य)