पश्चिमी भेगको ठूलो विकास

CRI


        चीनको पश्चिमी भेगमा कान्सु, क्वै चौ, छिङ हाइ, पल्लो शान्सी, सछ्वान तथा युनान आदि 6 वटा प्रान्त, निन स्या ह्वै जातीय स्वायत्त प्रदेश, तिब्ब्त स्वायत्त प्रदेश, सिन्च्याङ युगुर जातीय स्वायत्त प्रदेश र केन्द्रशासित शहर छोङ छिन गरी जम्मा 10वटा क्षेत्रहरु पर्दछन्। चीनको कूल भू-भागको दुइ तिहाई जति ओगटेको यो विशाल भू-भागमा चीनको कूल जनसंख्याको 22.8 प्रतिशत मानिसहरुको बसोबास रहेको छ। यहाँ खनिज पदार्थहरुको श्रोत प्रचूर छ, जल-श्रोत लगायतका ऊर्जा श्रोत, पर्यटन तथा जग्गा-जमिन सम्बन्धी श्रोत-साधनको पनि प्रचुरता र अनुकूलता देखा परेको छ। चीनका अनेक ठूल्ठूला नदीका माथिल्लो भागमा फैलिएर रहेको उक्त पश्चिमी भेगको वरपरका 10भन्दा बढी देशहरुसित जोडिएको स्थल सीमा रेखा 3 हजार 5सय किलोमीटर पुग्दछ जसलाई विदेशका लागि खुला हुन दोस्रो सुवर्ण क्षेत्र मानिएको छ।

          सन् 2000 सालमा चीनमा पश्चिमी भेगको ठूलो विकास सम्बन्धी महाकार्य शुरु भयो। सरकारले पूंजी निकासा, लगानीको वातावरण, भित्र तथा बाहिरका लागि खुला गर्ने कार्य, विज्ञान एवम् शिक्षाको विकास तथा योग्य व्यक्तिहरुको आकर्षण जस्ता सबै पक्षहरुमा पश्चिमी भेगका लागि सहूलियत दिने नीति लागू गरेको छ जसले गर्दा पश्चिमी भेग विकास कार्यले भरिपूर्ण क्षेत्र बन्नपुगेको छ। सन् 2000देखि यता चीनले पश्चिमी भेगमा दर्जनौं नयाँ महत्वपूर्ण परियोजनाको निर्माण कार्य शुरु गरिसकेको छ र यसका लागि लगभग 10 खरब चिनियाँ युआन बराबरको ठूलो रकम लगानी गरेको छ।

           चीन सरकारले अब पश्चिमी भेगको विकास सम्बन्धी गुरु-योजना बनाइरहेको छ ( माथि उल्लिखित 10वटा प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्रशासित शहरका अतिरिक्त भित्री मंगोलिया स्वायत्त प्रदेश तथा क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशलाई पनि सम्बन्धित योजनामा समावेश गरिएको छ) , साथै विदेशी व्यवसायीहरुलाई पश्चिमी भेगमा लगानी गर्न प्रोत्साहन दिने अनेकौं सहूलियतपूर्ण नीति तथा उपाय तर्जुमा गरेको छ। जस्तै भनौं, मध्य तथा पश्चिमी भेगमा स्थापित प्रेरणादायी उद्देश्यअनुरुपका विदेशी पूंजीद्बारा सञ्चालित उद्यम-व्यवसायहरुका लागि भन्सार-कर सम्बन्धी वर्तमान सहूलियतप्राप्त नीतिको कार्यान्वयन अवधि सकिएपछिको 3 वर्षभित्र 15 प्रतिशतका दरले व्यवसायको आय कर उठाउने र निकासी गर्ने व्यवसायहरुका लागि करको दर 10 प्रतिशतसम्म घटाउन सकिने व्यवस्था मिलाउने निर्णय चीन सरकारले गरेको छ। यसका साथै पश्चिमी भेगमा पर्ने ती प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्रशासित शहर समुद्रतटवर्ती भेगअवस्थित प्रान्त तथा शहरलाई प्राप्त हुने उस्तै समान हक-अधिकारको उपभोग गर्न पाई स्वेच्छाका साथ 3 करोड अमेरिकी डलरभन्दा कमको विदेशी पूंजीद्बारा सञ्चालित आयोजनको अनुमोदन गर्न सक्दछन्। पश्चिमी भेग अब बाहिरका लागि खुला हुने कार्यमा एक नयाँ आकर्षित ठाउँ र विदेशी व्यवसायीहरुका लागि लगानी गर्न सर्वप्रथम रोज्नुपर्ने थलो बनिरहेको छ।