चीनका प्रसिद्ध पर्यटकीय शहरहरु

CRI


       चीन निकै विशाल छ। चीनमा थुप्रै जातिहरुको बसोबास छ। चीनका विभिन्न शहरहरुको निर्माणको पनि आ-आफ्नै विशेषता छ। उत्तरी चीनमा चीनको राजाधानी पैचिंग पर्दछ भने पूर्वी चीनमा चीनको आ‌र्थिक केन्द्र शांग हाई शहर अवस्थित छ। पश्चिमी चीनमा रमणीय र विशेषयुक्त जातीय रितिरीवाजयुक्त ल्हासा शहर छ भने दक्षिण चीनमा राम्रो मौसमले चुमेको खुन मिंग शहर छ। रमणीय र आधुनिक शहरहरु बेग्ला-बेग्लै छन् भने यी शहरहरु मणि जस्तै चीनको 96 लाख वर्गकिलोमिटर क्षेत्रफलमा छरिएर रहेका छन्।

       हाल चीनमा “राष्ट्रिय स्तरका श्रेष्ठ पर्यटकीय शहर” हरुको नाम पाएका शहरहरुको संख्या 137 पुगेको छ। तीमध्ये शांग हाई शहर, पैचिंग शहर, थेन चिन शहर, छोंग छिंग शहर, शन चन शहर, हांग चौ शहर, ता ल्येन शहर, नान चिंग शहर, श्या मन शहर, क्वांग चौ शहर, छंग तु शहर, शन यांग शहर, छिंग ताऊ शहर, निंग पो शहर, सि आन शहर, हार्बिन शहर, चि नान शहर, छांग छ्वन शहर र ल्हासा शहर समावेश छन्। यसका अतिरिक्त, चीनले हार्बिन शहर, चि लीन शहर र छिंग ताऊ शहर लगायतका दशवटा शहरलाई “ऐतिहासिक नामी शहर”को नाम दिइएको छ।

पैचिंग

  
     पैचिंग चीनको राजधानी हो। पैचिंग चीनको राजनैतिक तथा साँस्कृतिक केन्द्र पनि हो। पैचिंग उत्तरी चीनको टार भूमिको उत्तरी भागमा पर्दछ। भौगोलिक स्थितिको दृष्टिकोणबाट हेर्दा पैचिं‍ग, इटलीको रोम र स्पेनको मेड्रिड एउटै देशान्तरमा रहेका छन्। यी शहरहरुमा हिउँद ऋतु र ग्रीष्म ऋतुको अवधि तुलनात्मक रुपमा लामो छ भने वसन्त ऋतु र शरद ऋतु अति छोटा र सुख्खा छन। यी ऋतुमा यहाँको वार्षिक औसत तापग्रम 11.8 डिग्री रहने गरेको छ।

       पैचिंगको इतिहास ज्यादै लामो छ। तीन हजार वर्षअघि नै पैचिंग त्यस बेलाका साना मुलुकहरुको साझा राजधानी थियो। छिन वंश, हान वंशकालमा पैचिंग क्षेत्र उत्तरी चीनको महत्वपूर्ण गाउँ-बस्ती थियो। चीनको इतिहासमा चिन वंश र त्यसपछिका युआन वंश, मिंग वंश र छिंग वंशका राजधानी पैचिंग थियो। इतिहासमा जम्मा 34 जना सम्राटले त्यहाँबाट सारा देशको राज्य-व्यवस्था सञ्चालन गर्नुभएको थियो।

       नयाँ चीनको स्थापना भएपछि, विशेष गरी चीनमा सुधार र खुलापन लागू भएदेखि यता पैचिंगमा निकै बढी परिवर्तन हुदैआएको देखिन्छ। कूटनैतिक आवत-जावत पनि निरन्तर रुपमा विस्तार हुदैआएको छ। पैचिंग शहर हाल अन्तर्राष्ट्रिय ठूला शहरहरुको पंक्तिमा प्रवेश हुनका लागि जोडतोडसँग अघि बढिरहेको छ। पैचिङको वातावरणमा प्राचीन इतिहास र आधुनिक दृष्य सँगसँगै मिलेकाले यो शहर विभिन्न मुलुकबाट आउने पर्यटकहरुको ध्यानाकर्षण गर्न सफल भएको छ। बितेका केही वर्षदेखियता पैचिंगले हरेक वर्ष दशौं लाख विदेशी पर्यटकहरु र करोडौं चिनियाँ पर्यटकहरुको स्वागत गरिरहेको छ।

       लामो इतिहासले पैचिंगलाई अधिकांश साँस्कृतिक वस्तुकला र रंगीचंगी मानवीय दृष्य पनि छोडेको छ। यदि तपाईंलाई साँस्कृतिक पूरातात्विक वस्तु मन पर्छ भने तपाईं‍ले लामो पर्खाल, दरबार संग्रहालय, गृष्म प्रासाद, पै हाई पार्क, स्यांग शान पहाड र थेन थान पार्क आदिको निरीक्षण-भ्रमण गर्नसक्नुहुन्छ। यी ठाउँहरुका सुन्दर दृष्य र शान्दार वास्तुहरु देख्दा तपाईंलाई त्यहाँबाट जान पट्टकै मन लाग्दैन। यदि तपाईंलाई चीनका प्राचीन सँस्कृति र प्रसिद्ध व्यक्तिहरुका बारेमा ज्ञान प्राप्त गर्ने मन लागेको छ भने तपाईंले चीनका प्रसिद्ध व्यक्तिहरुका पूराना घर, भवनको निरीक्षण गर्नसक्नुहुन्छ साथै पैचिंग ओपेरा पनि सुन्नसक्नुहुन्छ। यदि तपाईं चीनको राजनैतिक, आर्थिक, वैज्ञानिक तथा प्राविधिक तथा सैनिक आदि पक्षहरुको विकासको अवस्था बारे जानकारी लिन चाहनुहुन्छ भने तपाईंले पैचिंगभरि रहेका सयौं संग्रहालयको अवलोकन भ्रमण गर्नुका साथै प्राकृतिक दृष्यको पनि नजर गर्नसक्नु हुन्छ। यसका अतिरिक्त, तपाईं पैचिंगका कछाड क्षेत्रमा त्यहाँका रमणीय दृष्यको अवलोकन पनि गर्नसक्नु हुन्छ।

       हाल पैचिंगमा रहेका “चार ए” स्तरीय अर्थात् सर्वोच्च पर्यटकीय स्थलहरुमा थेन थान पार्क, मिंग वंशका श सान समाधि स्थल, गृष्म प्रासाद, पैचिंग समुद्री संग्रहालय, पा ता लींग लामो पर्खाल, पैहाई पार्क, चिंग शान पार्क, चिनियाँ अल्पसंख्यक जातीय पार्क, चीन विज्ञान र प्रविधि कक्ष, पैचिंग चिडियाखाना र पैचिंग वनस्पति उद्यान आदि समावेश छन्।


सि आन

      सि आन शहर चीनको पल्लो शान सि प्रान्तको सदर मुकाम हो। यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ। सि आन शहरलाई उत्तर-पश्चिमी चीनको राजनैतिक, आर्थिक तथा यातायातको केन्द्र ठानिएको छ।

      सि आन शहर प्राचीन चीनका छवटा वंशका राजधानीहरुमध्ये सबैभन्दा पहिले निर्माण गरिएको र सबैभन्दा धेरै वंशसम्म राजधानीका रुपमा रहेको अनि सबैभन्दा लामो इतिहास भएको शहर हो। इतिहास र सँस्कृतिमा त्यसको लोकप्रियतालाई कुनै शहरसँग पनि दाँज्न सकिंदैन। यसैले चीनको इतिहासमा हजारौं वर्षसम्मको प्राचीन राजधानीको हैसियतले सि आन शहरले चीनको इतिहासमा गहिरो असर पनि पारेको छ।

        विश्वमा प्राचीनकालका चारवटा ठूला राजधानीको हैसियतले सि आन शहर प्रसिद्ध पर्यटकीय स्थल पनि हो। “विश्वका आठौं ”विषशेतायुक्त ठाउँ अर्थात् छिन वंशका प्रथम सम्राटको समाधि स्थल पनि सि आन शहरको लिन थोंग क्षेत्रमा अवस्थित छ। त्यहाँ टेराकोटा सिपाहीहरुको संख्या छ हजारभन्दा बढी छ। यसलाई बीसौं शताव्दीको सबैभन्दा महान खोज मानिएको छ। यसका अतिरिक्त, त्यहाँ ता येन स्तुप, ह्वा छिंग ताल र ह्वा शान पहाड आदि धेरै रमणीय पर्यटकील स्थलहरु छन्।
 

ल्हासा शहर

       ल्हासा शहर चीनको तिब्बत स्वायत्त प्रदेशको सदर मुकाम हो। त्यसको कूल क्षेत्रफल 29 हजार 52 वर्गकिलोमिटर छ। ल्हासा सगरमाथाको उत्तरी भागमा पर्दछ। त्यहाँ वर्षमा थोरै पानी पर्छ, हिउँद ऋतुमा त्यहाँ धेरै जाडो हुँदैन अनि ग्रीष्म ऋतुमा पनि त्यति गर्मी हुँदैन। त्यहाँको मौषम पठार भूमिको अर्ध-सुक्खा मौसम हो। त्यहाँको वार्षिक औसत तापग्रम 7.4 डिग्री छ। वर्षभरिमा त्यहाँ घाम लाग्ने समय तीन हजार घण्टाभन्दा बढी पुग्छ भने त्यसलाई “घामको किरणको शहर” भनिन्छ। ल्हासामा मौसम निकै राम्रो भएका कारण त्यो ग्रीष्म ऋतमा तातोबाट जोगिने रमणीय स्थल हो।

       ल्हासा छिहांग-तिब्बत पठार भूमिमा पर्दछ। सो पठार भूमिको औसत उचाई समुद्र सतहदेखि 3600 मीटरभन्दा माथि छ। पठार भूमिको विशेष भौगोलिक स्थितिका कारण पहिलो पटक त्यहाँ पुग्ने मान्छेलाई बिसन्चो जस्तो लाग्छ। केही आराम गरेपछि मानिसको अवस्था ठीक हुनसक्छ। अप्रिलदेखि अक्टोबर महिनासम्मको अवधि तिब्बतमा घुम्ने स्वर्णिम समय हो।

       तिब्बती भाषामा ल्हासा भनेको देव-देवताहरु बसोबास गर्ने पवित्र स्थल हो। सो शहरको इतिहास लामो छ र त्यहाँको धार्मिक वातावरण पनि गहन छ। त्यस शहरका मुख्य पर्यटकील स्थलहरुमा जुम्लाखाङ्ग, पा को सडक र पोताला दरवार आदि रहेका छन।