चीन-यात्राका लागि प्रवेषाज्ञा सम्बन्धी केही जानकारी
CRI

       तपाईंको चीन-यात्राका लागि सबैभन्दा पहिले गर्नुपर्ने महत्वपूर्ण काम भनेको प्रवेषाज्ञा बनाउनु हो। विदेशी मित्रहरुले चीनको भ्रमणका लागि आउनुअघि सम्बन्धित मुलुकस्थित चिनियाँ राजदूताबास वा वाणिज्य दूताबासमार्फत पर्यटन प्रवेषाज्ञा मिलाउनु अत्यावश्यक र नभइनहुने कुरा हो। 9 जना वा यसभन्दा बढी संख्याका पर्यटकहरुले समूहगत रुपमा चीन आउन चाहेको खण्डमा सामूहिक पर्यटन प्रवेषाज्ञाका लागि निवेदन गर्न पाउँछन्। शन चङ, चु हाइ तथा स्या मन गरी यी विशेष आर्थिक क्षेत्रमा घुम्नका लागि जाने विदेशीहरुले प्रत्यक्ष रुपमा ती नाकाहरुका प्रवेषाज्ञा कार्यालयमा "विशेष क्षेत्रको पर्यटन प्रवेषाज्ञा" पाउनका लागि आवेदन गर्नुपर्छ। हाइनान प्रान्तको 15 दिनसम्मको मात्र यात्रा गर्ने हो भने तत्कालै हाइ खौ वा शान या नाकामा प्रवेषाज्ञा लिन सकिन्छ। हंगकंगमा रहेका विदेशीहरुले समूहगत रुपमा शन चङ विशेष क्षेत्रको भ्रमण गर्न चहेमा 72 घण्टासम्मका लागि प्रवेषाज्ञा बनाउनुपर्दैन। पर्यटन प्रवेषाज्ञा लिएर आउनेहरुले चीनद्वारा विदेशीका लागि खुला गरिएका वा निर्दिष्ट गरिएका नाकामा सिमा सुरक्षा जाँच अंगको जाँच-बुझपछि मात्र चीनभित्र प्रवेश गर्न सक्छन्।

          तपाईं चीनभित्र आफ्नो प्रभावकारी राहदानी र पर्यटन प्रवेषाज्ञा लिएरै मात्र विदेशीका लागि खुला हुने क्षेत्रहरुमा यात्रा गर्न सक्नुहुन्छ। चीन सरकार चीनभित्र रहेका विदेशीहरुको जायज हित-अधिकारको संरक्षण गर्दछ। तर पर्यटन प्रवेषाज्ञा लिएर चीनको भ्रमण गर्नआउने विदेशीको हैसियतमा तपाईंले चीनमा रोजगारीमा लाग्ने, धार्मिक प्रचार-प्रसार गर्ने र अवैध अन्तर्वार्ता लिने जस्ता आफ्नो हैसियतसँग नमिल्ने खालका कारवाई गर्नु हुँदैन। अन्यथा तपाईं जरिवाना या सजायको भागी हुनुहुनेछ। यसका साथै, चीनमा रहँदा तपाईंले अवश्य पनि चीनको ऐन-कानूनको पालना गर्नुपर्छ र चीनको रीतिथिति तथा चलन-चलनको सम्मान गर्नुपर्छ।

           तपाईं प्रवेषाज्ञामा तोकिएको अवधिभित्र चीनमा पर्यटन गर्न सक्नुहुन्छ। तोकिएको मिति सकिएपछि पनि अझै चीनको भ्रमणमा रहन चाहनुहुन्छ भने स्थानीय सार्वजनिक सुरक्षा कार्यालयसँग चीनमा बस्ने म्याद थपिदिन निवेदन गर्न सक्नुहुन्छ। तपाईंको यात्रा पूरा भएपछि प्रवेषाज्ञाको प्रभावकारी अवधिभित्र विदेशीका लागि खुला हुने अन्तर्राष्ट्रिय नाकामा सिमा सुरक्षा जाँच कार्यालयको जाँच-बुझ पार गरेपछि बाहिर निस्कनु हुन्छ।