चीनको जातीय नीति

CRI


       चीत एउटा एकीकृत बहुजातीय मुलुक हो। चीन सरकार सबै जातिहरुबीच समानता, एकता र पारस्परिक सहयोग सम्बन्धी जातीय नीतिको अवलम्बन गर्नुका साथै अल्पसंख्यक जातिहरुको धार्मिक स्वतन्त्रताको अधिकार र रितिरिवाजको कदर र संरक्षण गर्दछ।

       जातीय क्षेत्रमा लागू हुने स्वशासनको परिपाटी चीनको एउटा महत्वपूर्ण राजनीतिक परिपाटी हो। त्यसको अर्थ के हो भने मुलुकको एकीकृत नेतृत्वमा विभिन्न अल्पसंख्यक जातिहरुले बसोबास गरेका क्षेत्रहरुमा क्षेत्रीय स्वशासन लागू हुने गर्दछ। ती क्षेत्रहरुमा स्वायत्त सरकारी कार्यालय खडा हुने र स्वायत्त अधिकारको प्रयोग गर्ने गरिन्छ। स्वायत्त क्षेत्रले आफ्नो स्थानीय वास्तविकता अनुसार मुलुकको ऐन कानून र नीतिको निर्माण तथा कार्यान्वयन गर्नपाउने कुरालाई केन्द्रीय सरकारले सुनिश्चितता प्रदान गर्दछ र ठूलो मात्रामा विभिन्न तहका अल्पसंख्यक जातीय कार्यकर्ताहरु, विभिन्न कर्मठ इलमी व्यक्ति र प्राविधिज्ञहरुलाई हुर्काउने गर्दछ। जातीय स्वायत्त क्षेत्रका विभिन्न जातिका जनताले देशभरिका जनतासँगसँगै मिलेर चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आफूकहाँको धन तथा जन-शक्तिलाई केन्द्रित पारी समाजवादी आधुनिक समाजको निर्माण गर्नुका साथै जातीय स्वायत्त क्षेत्रको स्थानीय साँस्कृतिक तथा आर्थिक विकासमा गतिशीलता ल्याई एकताबद्ध र समृद्धिशाली जातीय स्वायत्त क्षेत्रको निर्माण गर्दछन्।

      कैयन् दशकको व्यवहारबाट चीनको सत्तारुढ दल— चिनियाँ कम्युनिष्ट पार्टीमा जातीय समस्या सम्बन्धी मूलभूत दृष्टिकोण र नीति तयार भएको छ। जुन निम्नलिखित छ:

      जातिको उत्पत्ति, विकास र अवसान एक लामो ऐतिहासिक प्रक्रिया भएको हुँदा जातीय समस्या दीर्घकालसम्म मौजूद रहिरहनेछ।

      समाजवादी विकासको चरण भनेको विभिन्न जातिहरुको साझा समृद्धि र उत्थानको अवधि हो। यस चरणमा सबै जातिहरु बीचको समान कारकतत्वहरुमा विकास हुनुका साथसाथै जातीय विशेषता र जातीय भिन्नता यथावत् नै कायम रहिरहनेछन्।

      जातीय समस्या समाजका सबै समस्याहरुमध्येको एक भाग हो। यसैले जातीय समस्याको समाधान तमाम सामाजिक समस्याको समाधान गरिने क्रममा मात्र क्रमशः गरिनेछ। चीनको वर्तमानकालका जातीय समस्याको समाधान समाजवाद निर्माणको साझा उद्देश्य प्राप्तिका क्रममा मात्र क्रमिकरुपमा हुनेछ।

      सबै जातीहरुले, जसको जनसंख्या बढी होस् वा थोरै, इतिहास लामो होस् वा छोटो, विकास छिटो होस् वा ढिलो, मातृभूमिको सभ्यताको विकासका लागि आ-आफ्नो क्षेत्रबाट योगदान गरेका छन् र सबै जातिहरु समान हुनुपर्दछ। सबै जातिका जनता बीचको महान् एकतालाई बलियो तुल्याउनुपर्दछ र राष्ट्रिय एकताको संरक्षण गर्नुपर्दछ।

      अर्थतन्त्रको जोडतोडसँग विकास गर्नु समाजवादको मौलिक कार्यभार हो। र वर्तमान कालमा चीनको जातीय कार्यको मौलिक कार्यभार पनि हो। सबै जातिहरुले आपसमा एक अर्कालाई मद्दत गर्नुपर्दछ र साझा प्रगति र समृद्धिको लक्ष्यलाई साकार तुल्याउनुपर्दछ।

      जातीय क्षेत्रमा स्वशासन लागू हुनु जातिका सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवादी सिद्धान्तका लागि गरेको महत्वपूर्ण र ठूलो योगदान हो। र साथै यो चीनको जातीय समस्याको समाधान हुने सम्बन्धी मूलभूत आधार पनि हो।

      नैतिक र बुद्धिमत्तापूर्ण तथा असल चरित्रयुक्त अल्पसंख्यक जातीय कार्यकर्ताहरुको एक विशाल पंक्तिलाई प्रयत्नका साथ हुर्काउनु जातीय क्षेत्रमा राम्ररी कामकाज गर्ने र जातीय समस्याको समाधान पहिल्याउने दिशाको एक मुख्य कडी हो।

      कुनै कुनै ठाउँमा जातीय समस्या र धार्मिक समस्या एक-अर्कासँग जेलिएर रहेका देखिन्छन्। यसैले जातीय समस्याको समाधान गर्ने क्रममा मुलुकको धार्मिक नीतिको कार्यान्वयन उचति तरिकाबाट गर्नु अति जरुरी हुन्छ।

      यसका अतिरिक्त, चीन सरकारले अल्पसंख्यक जातीय क्षेत्रको आर्थिक, साँस्कृतिक र शैक्षिक जस्ता विभिन्न कार्यको प्रगतिलाई प्रबर्द्धन गर्दै धर्मालम्बीहरु लगायतका व्यापक अल्पसंख्यक जातीय सर्वसाधारणहरुको भौतिक र साँस्कृतिक जीवन स्तरलाई माथि उकास्दैलग्ने काम गर्नुका साथसाथै अल्पसंख्यक जातिको धार्मिक आस्थाको कदर गर्ने र अल्पसंख्यक जातीय साँस्कृतिक सम्पदाको संरक्षण गर्ने कुरालाई विशेष ध्यान दिएको छ। चीन सरकारले धार्मिक सँस्कृति लगायतका अल्पसंख्यक जातिका विभिन्न साँस्कृतिक सम्पदा र लोक कलाको सर्वव्यापी सर्भेक्षण गर्ने, एकत्रित पार्ने, व्यवस्थित पार्ने, अध्ययन-अनुसन्धान गर्ने र प्रकाशित गर्ने काम पनि गरेको छ। यसका साथै मुलुकले अल्पसंख्यक जातीय क्षेत्रमा महत्वपूर्ण ऐतिहासिक र साँस्कृतिक मूल्ययुक्त गुम्बा र धार्मिक वास्तुहरुको मरम्मत र जीर्णोद्धार गर्नमा प्रशस्त पूंजी पनि लगाएको छ।