छीङ्गह्वा विश्वविद्यालय
CRI


       चीनको राजधानीमा रहेको छीङ्गह्वा विश्वविद्यालय चीनमा विज्ञान तथा प्रविधि सम्बन्धी विषय पढाइ हुने सबैभन्दा प्रख्यात सरकारी विश्वविद्यालय हो। यस विश्वविद्यालयको इतिहास सयौं वर्ष लामो छ। यस विश्वविद्यालय चीनका सबैभन्दा उच्चस्तरीय तालिम दिने अखडाहरुमध्येको एक हो।

        छीङ्गह्वा विश्वविद्यालयमा हाल प्रविधि, वास्तुकला, जल संभार र जल विद्युत, इन्जिनियरिङ्ग, सूचना तथा प्रविधि, मानव शास्त्र, आर्थिक व्यवस्थापन, कानून, कला, सार्वजनिक व्यवस्थापन, प्रयोगात्मक प्रविधि लगायतका एघारवटा क्याम्पस छन् र तीनमा ४४ वटा विभाग छन्। यस विश्वविद्यालयमा वास्तुकला, कम्प्युटर, कार आदि क्षेत्रको अनुसन्धान चीनमा निकै नामी छ। विगत बीस वर्षदेखि यता छीङ्गह्वा विश्वविद्याय विविध विषयहरु अध्यापन गरिने विश्वविद्यालयका रुपमा विकसित हुँदैआएको छ। यस क्रममा व्यवस्थापन, चिनियाँ भाषा, सञ्चार आदि सामाजिक विज्ञानको अध्यापन पनि गर्नथालिएको छ। यसका साथै, यस विश्वविद्यालयले मेडिकल क्याम्पसको स्थापना पनि गरिरहेको छ।

        छीङ्गह्वा विश्वविद्यालयका कर्मचारी तथा शिक्षक-शिक्षिकाहरुको कूल संख्या सात हजार एक सय जति छ। यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कूल संख्या बीस हजार भन्दा बढी छ। तीमध्ये स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको संख्या बाह्र हजार छ र स्नातकोत्तर एवम् विद्यावारिधिमा अध्ययनरत विद्यार्थीहरुको संख्या दश हजार जति छ। यस बाहेक, धेरै विदेशी विद्यार्थीहरु पनि यस विश्वविद्यालयमा अध्ययनरत छन्।

        छीङ्गह्वा विश्वविद्यालयको पढाइको गुणस्तर निकै राम्रो भएकाले यो विश्वविद्यालय चीनभरि मात्र नभई विश्वमा पनि लोकप्रिय छ। छीङ्गह्वा विश्वविद्यालय बारे तपाईंलाई अझ बढी जानकारी हासिल गर्न मन लागेमा यस विश्वविद्यालयको बेभ-साइट हेर्नुहोलाः
http://www.tsinghua.edu.cn