चीनमा अध्ययनको अवस्था बारे
CRI

       
   वितेका केही वर्षमा चीनको अर्थतन्त्रको विकासमा देखापरेको तिव्र वृद्धि र विश्वमा चीनको स्थान पनि दिनानुदिन महत्वपूर्ण हुदैआएको परिप्रेक्षमा चीनमा अध्ययन गर्नका लागि आउने विदेशी युवा-युवतीहरुको सं‌ख्यामा पनि वृद्धि हुदैआएको छ। हालसम्म चीनमा अध्ययनरत् विदेशी विद्यार्थीहरुको संख्या सतहत्तर हजार पुगिसकेको छ भने तिनीहरुमध्ये आफ्नै खर्चमा अध्ययन गर्न चीन आएका विद्यार्थीहरुको संख्या नब्बे प्रतिशत रहेको वताइएको छ। ती विद्यार्थीहरु मुख्यतः गणतन्त्र कोरिया, जापान, अमेरिका, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड, जर्मनी, रुस, नेपाल, फ्रान्स, अस्ट्रेलिया, मलेशिया आदि एक सय भन्दा बढी मुलुक र क्षेत्रबाट आएका हुन्।

        चीनमा अध्ययन गर्नआएका विदेशी विद्यार्थीहरुले मुख्यतः हान् जातीय भाषा, चीनको संस्कृति, चीनको इतिहास, परम्परागत चिनियाँ औषधी आदि चिनियाँ विशेषतायुक्त विशेष विषय पढ्नेगरेका छन्। केही वर्षयता कानून, बित्तीय र आर्थिक विषय, लेखा शास्त्र तथा सेन्स र इन्जिनियरिङ आदि विषय पनि विदेशी विद्यार्थिका लागि आकर्षणका विषय भएका छन्।

       यसका अतिरिक्त, चीनले चीनमा पढ्नआएका बाहिरका विद्यार्थीहरुको परिधिलाई विस्तार गर्नका लागि अरु कदम पनि चाल्दैआएको छ। उदाहरणका लागि ती विद्यार्थीहरुलाई विश्वविद्यालय बाहिरका नागरिकका घरमा बास बस्न अनुमति दिनुका साथै उनीहरुलाई चीनका साधारण जनतासित घुलमिल हुने अवसर दिइएको छ। स्नातकोत्तर तहमा अंग्रेजी भाषा र चिनियाँ भाषा गरि दुइ किसिमका भाषामा लेख्नपाउने व्यवस्था गरिंदा चिनियाँ भाषाको स्तर त्यति राम्रो नभएका विद्यार्थीहरुलाई पनि यसले आकर्षित गरेको छ।

       अपूर्ण तथ्यांक अनुसार, नयाँ चीनको स्थापना देखि यता लेखपढ गर्न विश्वका एक सय सत्तरी वटा मुलुक र क्षेत्रबाट चीन आएका विद्यार्थीहरुको संख्या छ लाख तीस हजार भन्दा बढी पुगिसकेको छ। उनीहरुले आ-आफ्नो मुलुकको निर्माण र विकास साथै आफ्नो देश र चीन बीचको आदान-प्रदान र सहयोगलाई बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।