सी चिनफिङजस्तो नेता विरलै जन्मिन्छः नेपाली व्यवसायी अर्जुन आचार्य
2022-02-02 15:19:10cri
Share with:

विगत एक दशकदेखि चीनबाट स्टेसनरी सम्बन्धी व्यवसाय गर्दै आउनुभएका नेपाली व्यवसायी अर्जुन आचार्यका आँखामा चीनको विकास निकै चामत्कारिक छ। व्यावसायिक सामग्री तथा अन्य सम्बन्धित गतिविधिका लागि उहाँले पटक पटक चीनको भ्रमण गर्नुभएको छ। हाल काठमाडौंमा साकुरा स्टेसनरी इम्पोर्ट संचालन गर्नुभएका आचार्यका विचारमा चिनियाँ खानपान शैली तथा व्यवसाय गर्ने ढंग हेर्दा अचम्म लागेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘चिनियाँहरूको खाने, बोल्ने, व्यवसाय गर्ने जुन ढंग छ नि, त्यो देखेर हामीले सिक्न बाँकी धेरै रहेछ जस्तो लाग्यो।’

 

चीनभित्र आश्चर्यजनक निर्माणका अनेकन किस्ता देखेको बताउँदै उहाँले चीनमा व्यवसाय गर्दा वा चीनभित्र नेपाली वस्तुहरूको ब्यापार बढाउनसक्ने हो भने नेपालीको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने बताउनुभयो। चीनमा व्यवसाय गर्न भाषा जान्नु जरूरी छ, त्यसका अलावा चीनमा कुन विषयमा व्यवसाय गर्ने भन्ने निश्चित भएर कारोबार अघि बढाउँदा नेपाली व्यवसायीलाई सहज हुन्छ, उहाँले सुझाव दिनुभयो।  

 

चीनको खानपानको शैली निकै स्वास्थ्यवर्द्धक छ। त्यस्तै चिनियाँहरूसँग व्यापार व्यवसाय गर्न भाषाले समस्या पार्नसक्ने भएपनि अहिले बिजनेस नै ग्लोबलाइजेसनमा गएकाले धेरै सहज भएको उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ, ‘चिनियाँहरूसँग कारोबार गर्न बाहिर सुनिएजस्तो अफ्ठ्यारो होइन। चिनजानपछि मिलेर नाफा गर्ने विषयमा सहज नै हुन्छ।’

चीनको व्यापारिक शैलीबाट नेपालीले सिक्नसक्ने कुरा धेरै छन्। चीनले सामान्य उत्पादनका लागि पनि कच्चा पदार्थ निर्माण गर्ने हुँदा आफ्नै देशमा नाफा राख्न सफल भएको छ। ‘नेपालले आफ्नो मुलुकका उत्पादनका लागि कच्चा पदार्थको प्रयोग गरेर काम गर्ने हो भने फाइदा लिन सक्छ,’ आचार्यको भनाइ छ। 

 

नेकपा एमाले रूपन्देही-काठमाडौं सम्पर्क मञ्चका सदस्य समेत रहेका व्यवसायी आचार्य चीनको बदलिँदो अन्तर्राष्ट्रिय छविबारे पनि सचेत हुनुहुन्छ। चीन विश्वको महाशक्ति बन्ने धुनमा छ। उहाँ भन्नुहुन्छ, ‘जुन हिसाबले चीन उदाउँदै गएको छ, चीनको बहुआयामिक छवि निर्माण हुँदै छर संसारका जनतासँग जोडिँदै गएको छ।’

 

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले अहिले धेरै ठूलो प्रगति हासिल गरेको छ। विशेषगरी गरिबी निवारण गरेजस्तै अनेकन् विषयमा गहिरो भिजन राख्नसक्ने सीजस्ता विश्वस्तरीय नेता संसारमा बिरलै जन्मिने आचार्यको भनाइ छ। उहाँले थप्नुभयो, ‘सीको अन्तर्राष्ट्रिय प्रस्तुती हेर्ने हो भने यस्ता नेता त शताब्दीमै एकचोटी मात्रै जन्मिन्छन् जसका भनाइ नै संविधानका लिखत जस्ता हुन्छन्।

 

कोरोना महामारी नियन्त्रणमा चीनले नेपाललाई ठूलो सहयोग गरेको छ। विगतदेखि चिनियाँ सहयोगप्रति नेपाली जनता अनुगृहित छन्। कोरोना महामारी नियन्त्रणमा प्रथम सफल मुलुक हुनुका पछाडि नेता र जनता आफैँमा अनुशासित भएकाले भएको ठहर उहाँले गर्नुभयो।

 

चीनको जस्तो राजनीतिक नेतृत्व भएमा नेपालको परिवर्तन छिटो हुनसक्ने ठान्ने आचार्यले चीनसँग सुमधुर सम्बन्ध स्थापना गर्दै जाने हो र परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्रीस्तरीय पहल र समन्वय गर्ने हो भने चीनको विकासको छालले नेपाल पनि समृद्धि उन्मुख हुनसक्ने बताउनुभयो। आफ्नो राजनीतिक पहुँचका आधारमा नेताहरूसमक्ष यस्तो सुझाव दिने गरेको बताउँदै उहाँले चीन र भारत कसैलाई पनि चिढ्याएर जान नहुने तर कसैको दास पनि बन्नु हुँदैन, भन्नुभयो।