भारतीय पर्यटक तान्न ‘ट्राभल मार्ट’
2022-03-16 15:50:30CRI
Share with:

नेपालगन्जमा तीन दिन चलेको वेष्टर्न ट्राभल मार्टले पश्चिम नेपालका पर्यटकीय क्षेत्रको भारतमा बजारीकरण गरेको छ। कर्णाली र सुदूरपश्चिममा धेरैभन्दा धेरै भारतीय पर्यटक भित्र्याउने मार्टको लक्ष्य थियो। नेपालगन्जमा पहिलो पटक भएको मार्टले भारतीय पर्यटन व्यवसायीलाई भिडियो र टेक्निकल सेसनमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको जानकारी गराइएको थियो।

 

नेपाल पर्यटन बोर्डका सीईओ डा.धनञ्जय रेग्मीले नेपालका पर्यटकीय गन्तव्यबारे भारतीय टुर एजेन्टलाई जानकारी गराइएको बताउनुभयोनेपाल र भारतबीच सदियौंदेखि सौहार्दपूर्ण सम्बन्ध छ। दुवै देशका पर्यटकीय क्षेत्रको एक अर्काले प्रचार र प्रबद्र्धन गरौं, रेग्मीले भारतीय पर्यटनकर्मीसँग भन्नुभयो, ‘तपाईंहरू नेपालका पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राख्नुस्। हामी हृदयदेखि नै स्वागत गर्न तयार छौं।

 

भारतीय पर्यटनकर्मीसहितका सहभागिले बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रत्यक्ष अवलोकन गरेका थिए। नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका र नाट्टा च्याप्टर बाँकेले ट्राभल मार्ट आयोजना गरेका हुन्। नेपालगन्जमा सञ्चालित स्टार होटल र त्यहाँका क्यासिनोमा भारतीय पर्यटन व्यवसायीलाई प्रत्यक्ष अवलोकन गर्ने र क्यासिनोमा खेल्ने अवसर प्रदान गरियो। उनीहरूले बागेश्वरी मन्दिर, फनपार्क भ्रमण र कर्णाली चिसापानीमा राफ्टिङसमेत गरेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जमा २ घण्टा बढीको जिप सफारी गरिएको थियो। ठाकुरद्वाराका पर्यटन व्यवसायीले निकुञ्ज र बाघका विषयमा जानकारी गराएका थिए। भारतीय सहरका टुर अपरेटर र नेपाली ट्राभल व्यवसायीबीच टुर प्याकेजको आदान प्रदान पनि भएको उपमहानगरपालिकाले जनाएको छ।

 

मार्टको उद्घाटन गर्न मन्त्री वा नेतालाई प्रमुख अथिति बनाइएको थिएन। नेपालगन्जका मेयर डा.धवलशमशेर राणा, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी उपस्थित रहेपनि राउटे मुखिया सूर्यनारायण शाहीले उद्घाटन गर्नुभयो।

 

पर्यटनबाट भुइँमान्छेको जीवन स्तर सुधार गर्न सकिने सन्देश दिन खोजिएको आयोजकले बताएका छन्। पर्यटन विज्ञ रामजी पाठकले कर्णाली प्रदेश पर्यटन क्षेत्रको विकासका लागि भर्जिन क्षेत्र भएको बताए। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् बाँके अध्यक्ष श्रीराम सिग्देलले हरेक वर्ष एउटै समयमा मार्टको आयोजना गर्ने बताउनुभयो। मार्टमा भारतको दिल्ली, मुम्बई, वनारस, आगरा, लखनउ, गुडगाउँ, गोरखपुर क्षेत्रका ४० टुर अपरेटर र नेपालका सातै प्रदेशका पर्यटन व्यवसायीको सहभागिता थियो। अन्नपूर्णपोस्ट अनलाइन।