धमाधम अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै राष्ट्रिय ध्वजावाहक
2022-03-18 16:19:49CRI
Share with:

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड-१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम घटेसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको नेपालखबर अनलाइनले जनाएको छ।

 

नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान गर्ने घोषणा गरिसकेको छ। निगमले आगामी मार्च २१ देखि बैंग्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ। बैंग्लोरमा साताको मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ।

 

यस्तै महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ। भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो। नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ। कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो। नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको छ। थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ।