नेपालमा देशकै दोस्रो ठूलो जलविद्युत् सबस्टेशन सञ्चालनमा आउँदै
2022-03-18 16:18:53CRI
Share with:

देशकै अर्को दोस्रो ठूलो सबस्टेशन आगामी शनिबारदेखि संचालनमा उने भएको छ। देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आउन लागेको यो दोश्रो सबस्टेसन हो।

 

रामेछापको मन्थली नगरपालिका१३ देवीटारमा निर्माण भएको न्यूखिम्ती सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ। सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ। सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ।

 

ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेशन सञ्चालनमा छन्। न्यूखिम्ती सबस्टेशनका इलेक्ट्रिकल इञ्जीनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ। विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो। नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ। यस्तै ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको गोरखापत्र अनलाइनमा खबर छ।

यसैबीच गज्र्याङ हाइड्रोपावर, खिम्ती२ को बिजुलीसमेत सोही सबस्टेशनमा जोडिनेछ। हालको क्षमताअनुसार सो सबस्टशेनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिनुभयो।

 

रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ। गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो।

 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सबस्टेशनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ। माथिल्लो तामाकोसीको झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेशन भएर प्रवाह भइसकेको छ। सबस्टेशनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन्। जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ।

 

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेशनका कर्मचारीको भनाइ छ।