रसुवागढी नाकाबाट भित्रिने कन्टेनरको संख्या बढ्यो
2022-03-18 16:17:37CRI
Share with:

रसुवागढी नाकाबाट बुधबारदेखि सामानको आयात हुने कन्टेनरको संख्यामा वृद्धि भएको छ।  बुधबार नकाबाट १४ वटा कन्टेनरमा सामान आयात भएको छ । यसअघि दैनिक ९ वटा कन्टेनरमा मात्र सामान आयात हुँदै आएको थियो। बुधबार बिहान ७ र दिउँसो ७ गरी १४ वटा कन्टेनरमा सामान आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसअघि भन्दा बुधबारबाट ५ चिनियाँ कन्टेनर थपिएको छ ।बुधबार भित्रिएका १४ वटा कन्टेनरमा रेडिमेड कपडा, स्याउ, लसुन र जलविद्युत्का सामान आएको भन्सार कार्यालयले जनाएको छ ।

 

गत बिहीबार नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच भर्चुअल माध्यमबाट सामान आयात बढाउने विषयमा छलफल भएको थियो । बैठकमा रसुवागढी नाकाबाट कम्तीमा २५ कन्टेनर सामान आयात हुने व्यवस्था मिलाउन नेपालले चीनलाई अनुरोध गरेको थियो । उक्त छलफलमा रसुवागढी नाकाबाट हाल दैनिक रुपमा नेपाल भित्रिने गरेको कन्टेनर संख्या बढाउन आफूहरू तयार रहेको चिनियाँ अधिकारीले जानकारी गराएका थिए ।

 

कन्टेनरको संख्या बढेसँगै अब बिहान ७ र बेलुका ७ गरी दुई सिफ्टमा १४ वटा चिनियाँ कन्टेनर नेपाल भित्रिने छन् । चिनियाँ एउटा कन्टेनरमा आएको सामान नेपाली दुई वटा कन्टेनरमा लोड हुने गरेको छ । चीनले दैनिक सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको छ । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित र आवतजावत बन्द छ ।

कान्तिपुर अनलाइनका अनुसार सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयातनिर्यात बन्द भएको थियो।

कोरोना भाइरस (कोभिड१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयातनिर्यात तथा आवतजावत बन्द भएको हो। रसुवागढी नाकाबाट व्यवसायीले दुई वर्षदेखि सहज रूपमा सामान आयात तथा निर्यात गर्न पाएका छैनन् । कुनै बेला हिमपात त कोही बेला पहिरोले अवरुद्ध हुने सडक साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो। त्यस पछि पनि पटक पटक नाका खुल्ने र बन्द हुने समस्या आइरहेको छ।

 

कोरोनापछि रसुवागढी नाकाबाट आवतजावत पनि २६ महिना देखि बन्द छ। केरुङमा व्यापार व्यावसाय र रोजगारी गर्नेहरु उता जान नपाएको २६ महिना पूरा भयो। उता जान नपाएका नेपालीहरुले केरुङमा बन्द पसलको दुई वर्षदेखिको भाडा तिर्दै छन् । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको २६ महिना पूरा भयो। सामान लिन केरुङ पुगेको खाली कन्टेनर पनि उतै रोकिएका छन्।

 

रसुवागढी भन्सार कार्यालयले ६ महिनामा ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ। भन्सार विभागले आर्थिक वर्ष ०७८/०७९का लागि रसुवा भन्सार कार्यालयलाई ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ। चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो।