लयमा फर्कंदै चितवनको सौराहा पर्यटकीय क्षेत्र
2022-03-19 16:05:41CRI
Share with:

कोरोना महामारीले लामो समयदेखि प्रभावित सौराहाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । पछिल्लो समय विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि सौराहा आउन थालेका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे सौराहाको व्यवसाय सामान्यतर्फ उन्मुख हुँदै गएको बताउनुभयो । सौराहाको औसत अकुपेन्सी ४० प्रतिशतको हाराहारी हो । अहिले हामी त्यो औसत नजिक छौँ,” उहाँले भन्नुभयो । सौराहाका ११० वटा पर्यटकीय होटलमा दुई हजार पाँच सय श-या छन् । यीमध्ये अहिले हरेक दिन ३५ देखि ४० प्रतिशतको अकुपेन्सी रहेको बताइएको छ ।

 

क्षेत्रीय होटल सङ्घ, सौराहाका महासचिव गुणराज थपलियाले कोरोनाको कहरले थला परेका व्यवसायीलाई केही राहत मिलेको बताउनुभयो । आन्तरिक पर्यटकले पनि व्यवसाय टिकाउन सकिन्छ भन्ने कुरा अहिले देखिएको छ । पछिल्लो समय विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गर्ने तालिम गोष्ठीजस्ता कार्यक्रमले पनि सौराहाको व्यवसायमा सुधार हुँदै गएको हो,” उहाँले थप्नुभयो ।

थपलियाले पछिल्लो समय सौराहामा विदेशी पर्यटक पनि बढ्न थालेको जानकारी दिनुभयो । अहिले भारत र युरोपेली पर्यटक आउन थालेका छन् । यसरी नै विदेशी पर्यटक आउने क्रम सुधार हुँदै जाने हो भने सौराहाको पर्यटनले पुरानै अवस्थामा आउनेछ,” उहाँले भन्नुभयो ।

 

यसैबीच सौराहाका रेस्टुराँमा पनि पर्यटकको आवागमन बाक्लै हुन थालेको छ। विशेषतः काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट घुम्नकै लागि सौराहा आउने पर्यटक पनि भेटिन्छन् । सौराहाले आन्तरिक पर्यटक तान्न विशेष छुट र प्याकेज दिने गरेको छ । विशेष छुट र प्याकेज, सरकारले आफ्ना कर्मचारीलाई घुम्नकै लागि दिने सेवा सुविधा र कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्न नपर्ने जस्ता सुविधाले सौराहामा पर्यटकको सङ्ख्यामा अहिले सुधार आएको हो ।

 

सौराहामा पर्यटक भित्र्याउन सुरुसुरुमा २० प्रतिशतसम्म छुटको प्याकेज घोषणा भएको थियो, कतिपय होटलले त अहिले पैसा तिर्दै पछि सुविधा लिँदै गर्ने अभियान (पे नाउ, गो लेटर) पनि थालेर पर्यटक भर्ने काम गरेका छन्,” महासचिव थपलियाले भन्नुभयो । सौराहाका कतिपय होटलले विगतमा दिएका छुट तथा अन्य प्याकेज अहिले पनि निरन्तर राखेका छन्। जङ्गल सफारी लज सौराहाले पे नाउ, गो लेटरप्याकेजलाई निरन्तरता दिएको छ।

 

यो अभियानमा चार हजार पाँच सय रुपियाँमा तीन रात चार दिन सौराहा घुमाउने सो प्याकेजअन्तर्गत अग्रिम भुक्तानी गरेर पर्यटक आफ्नो अनुकूल समयमा सौराहा घुम्न आउन पाउने व्यवस्था लजले गरेको हो। विगतमा सञ्चालन गरेको यो अभियानले करिब तीन सय पर्यटक सौराहा भित्र्याउन सफल भएको लजका सञ्चालक सुमन घिमिरेले जानकारी दिनुभयो । सौराहाका कतिपय होटलले पर्यटकलाई आर्कषण गर्न सञ्चालन गरेको विशेष छुट अभियान अहिले पनि जारी नै राखेका छन् ।

यस्तै २०२९ सालमा स्थापना भई विश्व सम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जका बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी आकर्षण हुन्। ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा रहेका ६६० चराचुरुङ्गी, बीसहजारी तालजस्ता रामसार क्षेत्रमा सूचीकृत तालतलैयाले यसको आकर्षण अझै बढाएको छ । हात्ती चडेर वन्यजन्तु (बाघ, गैँडाजस्ता जनावर) हेर्न आउने चितवनको पर्यटकको विशेषता हो । विशेष त हात्ती सफारी, जिप सफारी, जङ्गल सफारी (पैदल यात्रा) डुङ्गा सफारी निकुञ्जका विशेष आर्कषण हुन् । यो निकुञ्जभित्र र निकुञ्ज बाहिरका मध्यवर्ती क्षेत्रमा नियमित हुने गर्छ । पर्यटकको गतिविधि बिस्तारै सुधार हँुदै जान थालेपछि जङ्गल सफारी रोकिएपछि पर्यटकीय नगरी सौराहामा मात्रै थन्किएका ४० वटा जिप, २५ वटा डुङ्गा र एक सयभन्दा बढी हात्तीले पनि काम पाउन थालेका छन्।

 

बताइएअनुसार सौराहामा होटल सञ्चालनमा आउन थालेसँगै घर बिदामा रहेका/पठाइएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । होटल कुर्ने कर्मचारी मात्रै राखेका थियाँै । अहिले होटल चल्न थालेपछि कर्मचारी पनि बोलाउन थालियो । बिदामा गएकामध्ये आधाभन्दा बढी कर्मचारी त काममा पनि फर्किसकेका छन्,” सौराहाका एक होटल व्यवसायीले भन्नुभयो । सौराहाका होटल र रेस्टुराँमा कार्यरत झन्डै पाँच हजार कर्मचारीमध्ये कोरोना महामारीपछि अधिकांशले होटलबाट बिदा पाएका थिए । ती कर्मचारी पनि काममा फर्कन थालेका हुन् । गोरखापत्र।