ज्येष्ठ नागरिक अस्पताल निर्माणको तयारी
2022-03-20 15:57:14CRI
Share with:

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका लागि सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउने तयारी गरेको बताउनुभएको छ ।

 

शुक्रबार काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन गर्दै मन्त्री खतिवडाले निजामती, प्रहरी, सेना, बालबालिकाहरूको उपचारका लागि छुट्टै अस्पताल निर्माण भएकोले सरकारले ज्येष्ठ नागरिकको उपचारका लागि समेत छुट्टै अस्पताल निर्माण गर्न लागेको बताउनुभयो। नेपालको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि सरकारले जग्गा खोजी गरिरहेको बताउँदै मन्त्री खतिवडाले अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले अनुमतिसमेत दिएको बताउनुभयो ।

 

मन्त्री खतिवडाले सरकारले पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको ९० लाख मात्रा खोप खरिदका लागि अमेरिकालाई रकम पठाइसकिएको बताउनुभयो। अमेरिकालगायतका देशमा पाँच वर्षमाथिका बालबालिकालाई खोप लगाएको भए पनि त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता नदिएकोले हामीले उक्त खोप ल्याउन सकेका छैनौँ, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनेबित्तिकै खोप ल्याएर बालबालिकालाई लगाउने छौँ,” उहाँले भन्नुभयो।

स्वास्थ्यमन्त्री खतिवडाले चैत मसान्तभित्र १७ वर्षमाथिका सबै नागरिकलाई दोस्रो मात्रा खोप लगाउने लक्ष्य लिएको भन्दै बुस्टर डोज (अतिरिक्त मात्रा) खोप लगाएर सुरक्षित बन्न नागरिकलाई आग्रह गर्नुभयो।

 

उहाँले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्नका लागि सरकार मन, वचनले अघि बढेको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेश सरकार प्रदेशभित्रका नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै कोरोना सङ्क्रमणलगायतका महामारीमा गम्भीर भएर काम गरेको बताउनुभयो। उहाँले हालसम्म प्रदेशभित्रका ९८ प्रतिशत नागरिकले कोभिडविरुद्धको दोस्रो मात्रा, १२ देखि १७ वर्ष उमेर समूहका ७० प्रतिशतले पहिलो र ५५ प्रतिशत बालबालिकाले दोस्रो मात्रा खोप लगाएको दाबी गर्नुभयो । बागमती प्रदेश सरकारको छ करोड ७० लाख ८३ हजार र मण्डनदेउपुर नगरपालिकाको तीन करोड ८३ लाख ४७ हजार रुपियाँको लागतमा पाँच शøयाको आधारभूत अस्पतालको भवन निर्माण गरिएको छ । गोरखापत्र।