नेपालमा सात महिनामा करिब सात अर्बको फलफूल आयात
2022-03-21 16:28:48CRI
Share with:

नेपालमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरको फलफूल आयात भएको छ। यस अवधिमा आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात ह्वात्तै बढेको कान्तिपुर अनलाइनले लेखेको छ।

तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ। भन्सार विभागका अनुसार छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको छ।

नेपालमा स्याउ खेतीको सम्भावना हुँदाहुँदै उच्च दरमा स्याउको आयात हुनुले नेपालमा फलफूलकव परनिर्भरता चुलिँदै गएको बताइन्छ। नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मानिर्भर बनाउने घोषण गरे पनि यस वर्ष आयातको मात्रा आकासिएको छ।

नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्को छिमेकी मुलुक भारत हो। चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ। समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

यस्तै सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्य बराबरका सुन्तलाको आयात भएको बताइएको छ। भारत, दक्षिण अफ्रिका र इजिप्ट लगायत देशबाट नेपालमा सुन्तला ल्याउने गरिन्छ। यस अवधिमा भारतबााट ७७ करोड ४८ लाख ७२ हजार, दक्षिण अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६०० मूल्य बराबरका कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको तथ्यांक छ।

यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ। पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ। कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ।

यस्तै नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको तथ्यांकले देखाएको छ। तराई र भित्री मधेसमा आँप खेती राम्री फस्टाउने विज्ञहरू बताउँछन्। तर आयात भने वृद्धि हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातका ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ।

सोही अवधिमा अङ्गुरको आयातमा पनि वृद्धि भयो। चीन, भारत र इजिप्टबाट धेरै मात्रामा अङ्गुरको आयात गरिँदै आएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको सरकारी तथ्यांक छ।

यस्तै सोही अवधिमा नेपालमा भारतबाट झन्डै १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट दुई करोडको एभोकाडो, भारतबाट १६ करोडको खर्बुजा, चीनबाट १३ करोडको नासपाती भारतबाट चार करोडको किवी, नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न जातका अन्य फलफूल गरी झन्डै तीन अर्ब रुपैयाँको फलफूल आयात भएको भन्सार विभागले जनाएको छ।