एमाले उपाध्यक्ष पौडेलसहितको टोली चीन भ्रमणमा
2022-03-21 16:22:38CRI
Share with:

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमणमा निस्किएको छ। हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान ९:१० बजेको उडान मार्फत चीन गएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा निस्कनु भएको हो। चीनको युनान राज्यको कुनमिङ सहरमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन एमाले टोली भ्रमणमा गएको हो। उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको एमाले स्रोतले बताएको छ। उहाँहरु सीपीसीको निमन्त्रणामा चीन जानु भएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो। अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउने कार्यक्रम रहेको छ। पछिल्लो समय एमाले र सीपीसीका नेताहरूबीच भर्चुअल संवाद हुँदै आएको थियो। यसअघि एमाले र सीपीसीबीच भ्रमण आदनप्रदानका कार्यक्रमहरु हुने गर्थे। पछिल्लो समय नेपालमा अमेरिकासँगको एमसीसी सम्झौताको विषयलाई लिएर चीनले आफ्नो असन्तुष्टि प्रकट गरिरहेको छ। यी सबै घटनाक्रमको सन्दर्भ चलिरहेको बेला एमालेको टोली चीनतर्फ जान लागेको हो।