व्यापार घाटा कम गर्ने कार्यक्रम बनाउन नेपालका प्रमको निर्देशन
2022-03-23 16:05:31CRI
Share with:

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनु भएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा कम गर्नेगरी नीति तथा कार्यक्रम बनाउन निर्देशन दिनु भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटामा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देउवाले व्यापार घाटा घटाउने कार्यक्रम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनु भएको कारोबार अनलाइनले लेखेको छ।

बढ्दो आयातका कारण व्यापार घाटा बढ्दै गएकाले यसलाई कम गर्नका लागि स्थानीय स्तरमा उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो। चालु आर्थिक वर्षको ८ महिनामा व्यापार घाटा बढेर ११ खर्ब ६० अर्ब पुगेको छ। गत आवको यसै अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ थियो।

भन्सार विभागका अनुसार ८ महिनामा आयात ३८.६४ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ आयात भएको थियो।

त्यस्तै निर्यात ८ महिनामा ८२.९०९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोही अवधिमा नेपालबाट ८० अर्ब रुपैयाँको मात्र निर्यात भएको थियो।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशन दिनुभयो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गनुपर्ने उहाँको भनाइ थियो।

व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनुपर्ने भन्दै प्रधानमन्त्री देउवाले विद्युतीय सवारीसाधन, विद्युतीय चुलो लगायतको प्रयोग बढाउन भनेको मन्त्रालयले जानकारी दिएको छ।

हालैमात्र बोर्ड अफ ट्रेडको छैटौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित हुन आवश्यक नीति तथा कार्यक्रम अवलम्बन गर्न निर्देशन दिनुभयो। निकासीका प्रबल सम्भावना भएका र तुलनात्मक लाभ भएका वस्तुहरुको पहिचान गरी निर्यात बढाउने, स्वदेशी उत्पादनलाई प्रवद्र्धन र प्राथमिकीकरण गर्ने तथा निजी क्षेत्र उत्प्रेरित हुनेगरी आवश्यक कानुन तर्जुमा गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ। अर्थतन्त्रमा हाल देखिएको तरलता समस्या र विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई मध्यनजर गरी अवलम्बन गर्नुपर्ने उपायका बारेमा सुझाव पेश गर्न कार्यदल गठन गर्न उहाँले दिर्नेशन दिनुभयो।

बैठकमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको वर्तमान स्थिति एवं चुनौती र आयात व्यवस्थापन गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल भएको थियो। बैठकमा निजी क्षेत्रका प्रतिनिधि तथा बोर्डका सदस्यहरुले व्यापार तथा लगानीसँग सम्बन्धित नीतिहरु पुनरावलोकन गर्नुपर्ने, स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई बढावा दिनुपर्ने, विदेशी लगानी आकर्षण गर्न शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने सुझाव दिएका थिए। आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनका सम्बन्धनमा अवलम्बन गर्नुपर्ने नीतिगत उपायहरु पहिल्याउन निजी क्षेत्रको समेत सहभागितामा अन्तरसरकारी संयन्त्र गठन गर्नुपर्ने सुझाव निजी क्षेत्रको छ।