लगानी बोर्ड र यूएनडीपीबीच समझदारीपत्रमा हस्ताक्षर
2022-03-23 16:08:02CRI
Share with:

लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) बीच साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गर्नु भएको कारोबार अनलाइनले लेखेको छ।
समझदारीमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उल्लेख छ। नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवद्र्धन गर्दै वित्तीय न्यूनता पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न यो सहकार्यले सहयोग पु-याउने अपेक्षा गरिएको छ।
परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन मापदण्ड, परियोजना विकास सम्झौता र परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यका लागि सहयोग स्थापित गर्नेसमेत समझदारीपत्रमा उल्लेख छ। लगानी बोर्डको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्टेन्डर अपरेटिङ प्रोसुडियर (एसओपी) विकास गर्न सहकार्य गर्नेलगायतका अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्त रुपमा अघि बढ्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस समझदारीले नेपालमा लगानी प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यसका लागि बोर्डको आन्तरिक क्षमता वृद्धि गर्ने, लगानीकर्ताका जोखिम न्यूनीकरण गर्ने, अनुमानयोग्यता प्रवद्र्धन गर्ने कार्यमा सहयोग आदान प्रदान हुने पक्षमा उहाँले जोड दिनुभयो। लगानी बोर्डलाई उत्कृष्टताको केन्द्रका रुपमा अघि बढाउन आन्तरिक रुपमा कार्य गरिरहेको बताउँदै उहाँले एसओपी निर्माण गर्ने, कार्यविधि तय गर्ने कार्यले संगठनात्मक रुपमा परिवर्तन व्यवस्थापन गर्दै अघि बढ्न सहज हुने आशा व्यक्त गर्नु भएको छ।
यसैगरी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि लाबेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विश्वका १७० भन्दा बढी देशमा सहकार्य गरिरहेको जानकारी दिनुभयो। नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको वर्तमान सन्दर्भमा बोर्डसँगको सहकार्यले तीन तहकै सरकारका क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
यूएनडीपीले आगामी पाँच वर्षका लागि नेपाल सम्बन्धी रणनीतिक योजना तयार गरिरहेको बताउँदै उहाँले शासकीय क्षेत्र, लंगिक क्षेत्र, समावेशी आर्थिक वृद्धि जस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्ने उल्लेख गर्दै यसले नेपाल जस्तो विविधता भएको देशमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।