विश्व क्षयरोग दिवस : नेपालमा क्षयरोगबाट बर्सेनि १६ हजारको मृत्यु
2022-03-24 16:05:31CRI
Share with:

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज बिहीबार नेपालमा पनि मनाइएको छ। दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताउनु भएको अनलाइन खबरले लेखेको छ।

 सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षयरोग मुक्त नेपाल बनाउने प्रतिबद्धता जनाएको थियो। सो अनुसार स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहमा चालु आर्थिक वर्षबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यान्वयनमा आएको थियो।

 आगामी आर्थिक वर्षमा अरु थप स्थानीय तहमा पनि यो अभियान लागु गर्ने र आगामी चार वर्षभित्र देशका सबै स्थानीय तहमा अभियान कार्यान्वयनमा ल्याउने प्रधानमन्त्रीको भनाइ छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन्। तर ४० हजार बिरामी सम्पर्कबाहिर रहेको केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउनुहुन्छ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको पत्ता लागेको थियो। यो रोगबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको सर्वेक्षणबाट पत्ता लागेको थियो।

सरकारले आर्थिक वर्ष २०७८/७९ मा क्षयरोग नियन्त्रणका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको छ। क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँछ।