चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमणमा
2022-03-25 19:53:36CRI
Share with:


चीनका परराष्ट्रमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आज शुक्रबार अपरान्ह नेपाल आइपुग्नु भएको छ। नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणका लागि उहाँ आउनु भएको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले लेखेको छ।

विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।

विदेशमन्त्री वाङको बासस्थानदेखि उहाँ सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ । बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उहाँको भव्य स्वागत गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नु भएको छ।