तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
2022-03-25 19:01:54CRI
Share with:

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ जलविद्युत आयोजनालाई समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। बिहीबार निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि यस्तो निर्देशन दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

 आयोजनाको निरीक्षणपछि ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो निर्देशन निर्देशन गर्नुभएको हो।

निर्धारित समयमा काम गर्नुपर्ने हुँदा फिल्डको काम छिटो सम्पन्न गर्न कर्मचारी, प्राविधिकलाई प्रधानमन्त्रीले देउवाले निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङमार्ग, ड्याम लगायतको भौतिक प्रगतिको बारेमा जानकारी लिनुभएको हो। तनहुँ जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख राजाभाइ शिल्पाकारसँग प्रधानमन्त्री देउवाले कार्य प्रगतिको बारेमा जानकारी लिनुभएको छ।

 कुलेखानी पछिको सुख्यायाममा अभाव नहुने जलाशययुक्त आयोजनालाई सरकारले महत्वका साथ अगाडि बढाएको छ। आयोजनाका प्रबन्ध सञ्चालक श्रेष्ठले वर्षायामको समयमा यो आयोजनाले विद्युतको अभावलाई कम गर्ने बताउनुभयो।

 आयोजना निर्माणका क्रममा जलाशय क्षेत्र, बाँध र विद्युत गृह क्षेत्र, भौतिक संरचनाका क्षेत्र र तल्लो तटीय क्षेत्रमा केही प्रभाव पर्ने भए तापनि अन्य जलविद्युत आयोजनाका तुलनामा यसको प्रभाव कम रहेको जानकारी दिइएको थियो।

 ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

 तनहुँमा निर्माणाधीन यो आयोजना नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो। १४० मेगावाट क्षमताको आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर छ।

 त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहनेछ। आयोजनाका लागि दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ। त्यसका लागि काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्गबाट निर्माण गरेर सेती नदीको पानीलाई भूमिगत विद्युत गृहमा पुर्याएर विद्युत उत्पादन गरिने बताइएको छ। तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २२० केभीको डबल सर्किटबाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।