नेपालले चीनसँग केरुङ–काठमाडौँ रेलमार्गको प्रस्ताव गर्ने
2022-03-26 16:30:53CRI
Share with:

नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ। नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो। नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौँको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेको हो। नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’को रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि सम्भाव्यता अध्ययनका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन।

सम्भाव्यता अध्ययन पूरा भएसँगै प्रस्तावित सो रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्ने महाशाखा प्रमुख शर्माले बताउनुभयो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको थियो। भ्रमणकै क्रममा प्रस्तावित उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने दुई मुलुकले संयुक्त घोषणासमेत गरेका थिए।

प्रस्तावित सो रेलमार्ग निर्माणका लागि चीनद्वारा यसअघि गरिएको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन प्रतिवेदनले उक्त रेलमार्गको निर्माण र सञ्चालन सम्भव रहेको देखाएको छ। चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरणसमेत गरेको छ। प्रतिवेदनअनुसार सो रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ। अध्ययनअनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छ; जसमध्ये पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौँ र केरुङको बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौँ टोखामा हुनेछ।

रेलमार्ग निर्माणका लागि चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन सम्पन्न गरेको छ। केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपाल रेल आउने हो। केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ।

चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माणका लागि फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागले जनाएको छ। केरुङ–सिगात्से भएर नै नेपालमा चीनबाट रेल आउने हो, यस सन्दर्भमा सिगात्से–केरुङमार्गको निर्माण कार्य अगाडि बढ्नु नेपालका लागि सकारात्मक रूपमा लिइएको छ। केरुङ–सिगात्सेको दूरी ५४० किलोमिटर छ भने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको दूरी ७२ किलोमिटर छ। रसुवागढीदेखि केरुङसम्मको दूरी २५ किलोमिटर छ।