पाल्पालाई ढाकाको राजधानी घोषणा
2022-03-28 16:19:03cri
Share with:

पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको हो । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीले बताउनुभयो । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेकाले राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

 

गोरखापत्र अनलाइनका अनुसार हाल पाल्पा जिल्लाभर एक दर्जनभन्दा बढी ढाका उद्योग छन् । ती ढाका उद्योगमा एक हजारभन्दा बढीले काम गरिरहेको बताइएको छ । पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा सहयोग पु-याउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

 

पाल्पाली ढाकाले आफ्नै ब्रान्ड पाइसकेको सन्दर्भमा जिल्लालाई नै ढाकाको राजधानी घोषणाले ढाका व्यवसायीलाई उत्पादनमा प्रोत्साहन गर्ने र बजारमा स्थापित गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । परम्परागत रूपमा हातले बनाएका ढाकाबाट अहिले विभिन्न सामग्री उत्पादन हुन्छन् । अहिले पाल्पाली ढाकाले आफ्नै ब्रान्ड पाउन सफल भइसकेकाले पाल्पालाई चिनाउन राजधानी घोषणाले सहयोग पुग्ने पाल्पाली ढाका सङ्घका अध्यक्ष मनोज पौडेलले बताउनुभयो ।