केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने
2022-03-29 15:49:05cri
Share with:

नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा लिइएको प्रस्तावित केरुङकाठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ। चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा अध्ययन गर्न नेपाल र चीनबीच प्राविधिक कार्ययोजनामा सहमति भएको छ। विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपालले चीनसमक्ष सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको गोरखापत्र अनलाइनमा खबर छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माका अनुसार, दुई मुलुकबीच भएको समझदारीअनुसार पहिलो चरणमा हवाई सर्वेक्षण, दोस्रोमा भौगोलिक अनुसन्धान र तेस्रोमा रेल पङ्क्ति योजना तथा लागत अनुमानसम्बन्धी सम्भाव्यता अध्ययन गरिनेछ। यसअघि यो रेल्वे परियोजनामा कसले कति लगानी गर्ने भन्ने टुङ्गो नलागे पनि अहिले भएको दुई मुलुकबीचको सहमतिअनुसार यस परियोजनामा सम्पूर्ण खर्च चीन सरकारले नै गर्ने उहाँले बताउनुभयो। विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ। सम्भाव्यता अध्ययन प्रतिवेदनले सो रेल्वे परियोजनाको कुल लागत, निर्माण मोडललगायतबारे टुङ्गो लाग्ने उहाँले बताउनुभयो

तर, विकट भूगोल र कडा चट्टानी क्षेत्रमा यो परियोजना निर्माण गर्नुपर्ने भएकाले पूर्वसम्भाव्यता अध्ययनले मात्र नपुग्ने भएकाले विस्तृत सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच यो सहमति गर्नुपरेको सहसचिव शर्माले बताउनुभयो।