बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनलाई प्रवर्द्धन गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ
2022-03-30 16:31:13cri
Share with:

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताउनुभएको छ। बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताउनुभएको हो। साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनुभयो। बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन।

 

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो। देउवाले भन्नुभयो, 'जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ। फर्कन नसक्नेगरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ ।'

 

दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि यसका कार्यक्रमहरू कार्यान्वयनमा पनि तीव्रता दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो। त्यस्तै प्रधानमन्त्री देउवाले खोप र स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ।