ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला
2022-03-30 16:34:11cri
Share with:

वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गर्नुभयो। २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो।

 

लामो समयपछि खुला भएको ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिनुभयो।

 

भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ।

हनुमान दरबारमा रहेका केही चोकलगायत दरबारसँग सम्बन्धित १०० वर्षअघिका फोटो र पुराना गरगहनासमेत यहाँ देख्न पाइने छ ।

 

राससका अनुसार गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गर्नुभएको हो। तत्कालीन समयमा उक्त बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो। बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्बिर राखिएको छ। त्यस्तै ढोकाबाट प्रवेश गर्ने बित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार रहेको छ ।

 

गद्दी बैठकको प्रयोग पछिल्लो समय कम भएको भए पनि हाल यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ट पाहुना जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने समयमा हुने गरेको छ ।