नेपालमा पहिलो हिमालयन भिगन फेस्टिभल हुने
2022-03-30 16:32:16cri
Share with:

वनस्पतिमा आधारित खानपान तथा जीवनशैली अपनाउने 'भिगन'हरूले पहिलो पटक काठमाडौंमा महोत्सव गर्ने भएका छन् । आगामी भदौ ३० गतेका लागि 'हिमालयन भिगन महोत्सव'को घोषणा गरिएको हो । तीनदिने महोत्सवमा प्रथम भिगन सगरमाथा आरोही कुन्तल जोइसर काठमाडौं आउने भएका छन्। तर त्यसभन्दा अघि लुम्बिनीमा फेस्टिभलको पूर्व तयारी गरिने आयोजक समितिले जनाएको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको औपचारिक घोषणा गरिएको हो ।

 

आयोजक विशुद्ध शाकाहारी संघका अध्यक्ष सुरेश शर्माका अनुसार फेस्टिभलमा विश्वभरबाट भिगन विज्ञहरू सहभागी हुने छन् । साथै शाकाहारी खानाका परिकार र यसका फाइदाबारे जानकारी दिइने छ । भिगन अभियन्ता एवं आयोजक समितिका सदस्य प्रकाश अजातले फेस्टिभलमा भिगन परिकार पकाउने तरिका, योग प्रशिक्षण लगायत स्वस्थ खानपान र जीवनशैली सम्बन्धी सीप पनि सिकाइने बताउनुभयो । यस क्रममा म्याराथन साथै वृत्तचित्र पनि देखाइने छ । अजातका अनुसार फेस्टिभलमा सगरमाथा आरोही कुन्तलले आफ्नो अनुभव शेयर गर्ने छन्।

 

नेपालमा तीन दिनको महोत्सवपछि लगत्तै भुटानमा पनि कार्यक्रम हुने बताइएको छ । जसलाई नेपालकै महोत्सवको श्रृंखलाको रुपमा लिइएको छ । भारत लगायत देशमा यसअघि यस सम्बन्धी कार्यक्रम गरिए पनि नेपाल र भुटानमा यस्ता महोत्सव पहिले कहिल्यै भएको थिएन ।

विश्वका कतिपय देशमा भिगनबारे विभिन्न कार्यक्रम हुने गरे पनि नेपालमा भने उक्त महोत्सव पहिलो हुनेछ । भिगनबारे कतिपय भ्रम फैलाउने गरिएको र धर्मसँग जोड्ने गरेकाले नेपालमा हुने महोत्सवले त्यस्ता भ्रम हटाएर आम मानिसको स्वस्थ जीवनशैलीको तरिका सिकाउने आयोजकले जनाएको छ ।

 

संसारका भिगनहरू दुध एवं मासुजन्य परिकार सेवन नगर्ने र प्रकृतिका सबै सिर्जनाको सम्मान गर्ने स्वस्थ जीवनशैली अपनाउने कुरामा जोड दिने गर्छन्। उनीहरू स्वस्थ बन्न माछामासु सेवन गर्नुपर्ने तर्कको विपक्षमा छन्। साथै आम शाकाहारी जीवनशैली अपनाउनेहरूभन्दा पनि फरक उनीहरू प्रकृतिबाट उपलब्ध वस्तुको मात्रै उपभोग गर्नुपर्ने मान्यता राख्छन्।

 

भिगनका कतिपय अगुवाहरू यसलाई 'मिनिमलिज्म'को आदर्शबाट हेर्ने गर्छन्। मानव शरीर र जीवनका लागि प्रकृतिबाट उपलब्ध वस्तुभन्दा बढी वस्तुको उपभोग गर्न नहुने उनीहरूको आदर्श रहने गरेको छ ।