भारतबाट बिजुली नपाएपछि नेपालका उद्योगमा रातभर लोडसेडिङ
2022-03-31 16:23:05cri
Share with:

भारतीय बजारमै बिजुली अभाव भएपछि महँगो मूल्य तिर्दा पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली पाउन छोडेको छ । विद्युत् आपूर्तिकर्ता (सप्लायर) नै नभएपछि इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट महँगो मूल्यमा पनि बिजुली पाउन छोडेको प्राधिकरणले जनाएको छ। महँगो मूल्यमै किन्नका लागि प्रस्ताव हाल्दा पनि हामीले बिजुली पाइरहेका छैनौं । किनकि त्यहाँ सप्लायर्स नै छैनन्,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भन्नुभयो, ‘आईईक्सले दामासाहीमा बिजुली दिन थाल्यो । निश्चित अनुपात निर्धारण गरेर धेरै माग्नेले धेरै र कम माग्नेले कम बिजुली पाउन थाले। हामीभन्दा धेरै परिमाणमा बिजुली माग्ने अरु छन्

 

भारतमा दिउँसो सोलारबाट बिजुली आपूर्ति हुने भएकाले दिउँसोको समयमा बिजुली पाएपनि राति पाउन नसकेको पनि प्राधिकरणले जनाएको छ । रुसयुक्रेन युद्धका कारण कोइला र प्राकृतिक ग्यास अभाव हुन थालेपछि थर्मल प्लान्टहरुबाट बिजुली आपूर्ति हुन छाडेको कान्तिपुर अनलाइनले जनाएको छ।

 

मंगलबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर१ ले पत्रकार सम्मेलन गर्दै १२ घण्टासम्म लोडसेडिङ हुने गरेको बताएको थियो । औद्योगिक ग्राहकलाई बिजुली कटौती गरेपनि साना उद्योग र ग्राहस्थ ग्राहकलाई बिजुली उपलब्ध भइरहेको प्राधिकरणले जनाएको छ ।

भारतबाट चर्को मूल्यमा बिजुली किन्नुपरेपछि थपिएको आर्थिक दायित्व ब्यहोर्न नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई गुहारेको थियो ।

तर निजी क्षेत्रले महँगोमा बिजुली किन्न नसक्ने बताएपछि प्राधिकरणले केही समयका लागि चर्को मूल्यमै बिजुली किनेर उपलब्ध गराउने बताएको थियो। तर अहिले महँगोमै पनि बिजुली पाउन छोडेको हो । यसअघि अधिकतम भारु २० रुपैयाँ प्रतियुनिटसम्ममा बिजुली किन्नका लागि प्राधिकरणले प्रस्ताव हालेको थियो।

 

अहिले औद्योगिक ग्राहकका लागि चाहिने हाराहारीको बिजुली राष्ट्रिय प्रणालीमा अपुग छ । यो मागलाई प्राधिकरणले भारतबाट ल्याएर पूरा गर्दै आएको छ । कुल १ हजार ६ सय मेगावाट बराबर आन्तरिक विद्युत् माग रहेकोमा साढे ३ सय मेगावाट बिजुली अभाव रहेको प्राधिकरणले बताएको छ।

भारतबाट महँगोमा बिजुली किन्दा प्राधिकरणले दैनिक २२ देखि २३ करोड र एक महिनामा करिब ८ अर्ब रुपैयाँ घाटा ब्यहोर्ने बताउँदै आएको छ । उद्योगीव्यवसायीहरुले भने प्राधिकरणले आफ्नो वित्तीय स्वास्थ्य बिग्रन सक्ने भएकाले भारतबाट महँगोमा बिजुली किन्न नचाहेको आरोप लगाउँदै आएका छन् ।

वर्षायाम सुरु भएर आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्था नआउन्जेलसम्म नेपालले भारतबाट बिजुली आयात गर्नुपर्नेछ। यसरी हेर्दा नेपालले अझै करिब तीन महिना भारतबाट बिजुली ल्याउनुपर्छ। भारतबाट महँगोमा बिजुली किनेर नेपालमा सस्तोमा बेच्दा प्राधिकरणलाई ठूलो आर्थिक घाटा छ। भारतमा बिजुलीको मुख्य स्रोत कोइला, थर्मल प्लान्ट र प्राकृतिक ग्यास हो । भारतले आफ्नो ७० प्रतिशत बिजुली कोइला उद्योग र थर्मल प्लान्टबाट उत्पादन गर्छ ।