नेपाल–भारत आयोजनाअन्तर्गत चोभार सुक्खा बन्दरगाह तयार, सञ्चालनमा ढिलाइ
2022-03-31 16:15:52cri
Share with:

काठमाडौँको चोभारमा स्थापना भएको सुक्खा बन्दरगाह (ड्राइ पोर्ट) निर्माण सम्पन्न भएको छ। नेपालभारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल इन्टरमोडल यातायात विकास समितिले करिब तीन वर्ष लगाएर यसको भौतिक पूर्वाधार निर्माणको काम गत असारको अन्तिममा सम्पन्न गरेको थियो । लामो समय बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह कहिलेदेखि सञ्चालनमा आउने भन्नेमा कुनै निर्णय भइनसकेको जानकारी दिनुभयो। निर्माणको काम सकिए पनि प्राविधिक समस्याले सञ्चालनमा ढिलाइ भएको उहाँले बताउनुभयो।

 

इन्टरमोडलले बन्दरगाह निर्माणका लागि सैंङ्छीआशिष जेभी र लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीलाई ठेक्का दिएको थियो। सम्झौता भएको मितिले १८ महिनामा सक्नुपर्ने यो बन्दरगाहको निर्माण अवधि कोभिडका कारण एक वर्ष र स्थानीय बासिन्दाको अवरोधका कारण करिब ६ महिना लम्बिएको थियो। विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको हो। बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकचाँज कक्ष सबै सुविधा एकै ठाउँमा रहेको गजुरेलले जानकारी दिनुभयो। छिमेकी मुलुक भारतबाट आउने सामान वीरगन्जबाट सिधै चोभारमा आउने कारोबारले लेखेको छ।

व्यापार विज्ञ रविशंकर सैंजु भन्सारमा चेकजाँच नभई सिधै सामान बन्दरगाहमा आउँदा यसले समय र लागत कम हुने हूँदा व्यापारलाई सहजीकरण गर्ने बताउनुहुन्छ। विदेशबाट आयात हुने तथा नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिने लक्ष्यका साथ बन्दरगाह निर्माण गरिएको हो । बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाडौँ सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने सम्झौता थियो। तर, कोरोना, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइलगायत कारणले केही ढिला भएको समितिको भनाइ छ।

 

बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौँ तथा आसपासमा भित्रने मालवाहक सवारीसाधन वीरगन्जमा लामो प्रक्रिया गरेर रोकिनुपर्ने छैन, सिधै काठमाडौँ आउन सक्नेछन् । सीमा भन्सारले सिल लगाएर बन्दरगाहमा पठाउनेछ । उक्त सिल काठमाडौँ बन्दरगाहमा खोलिनेछ । वीरगन्जबाट सिधै चोभारमा आउने भएकाले बीचमा हुने झन्झट पूर्ण रुपमा अन्त्य हुनेछ । यसैबीच, नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत परिपत्र २०७८ संशोधन गरी चोभारसम्मका लागि एलसी खोल्न बाटो खुलाइदिएको छ । व्यवसायीले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमार्फत अन्तर्राष्ट्रिय व्यापारका लागि चोभारको सुक्खा बन्दरगाह नाका हुने गरी प्रतीतपत्र जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण भएको छ। भन्सार जाँचपासको काम हालसम्म सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन्। नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था गरिनेछ।