भारतको कोलकाताबाट कार्गो रेल नेपाल ल्याउन पहल
2022-04-01 15:50:30cri
Share with:

भारतको कोलकाता बन्दरगाहबाट विराटनगर, बुधनगरको सुक्खा बन्दरगाह (आईसीपी)सम्म कार्गो रेल ल्याउन पहल भइरहेको छ । कोलकातादेखि सिधै बुधनगरसम्म कार्ग रेल ल्याउन भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा स्थलगत निरीक्षण गरेको गोरखापत्र अनलाइनले जनाएको छ

भारतीय रेलवे विभागअन्तर्गत एनएफ रेलवे कटिहार मण्डलका कर्नल एसके चौधरीले आइतबार बथनाहाबुधनगरसम्मको रेलवे लाइन निरीक्षण गर्नुभएको हो ।रेलवे विभाग नेपालका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउन आवश्यक पूर्वाधार तयारी गर्ने विषयमा अहिले प्रक्रिया बढिरहेको जानकारी दिनुभयो। प्रवक्ता चित्रकारले बाहिर चर्चामा आएजस्तो आगामी जुलाई (असार)सम्ममा भनेर समय नै यकिन भन्न नसकिने भए पनि आईसीपीसँग लिङ्कअप वेनिर्माणको कामका लागि अध्ययन भइरहेको बताउनुभयो ।

 

उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आईसीपीसम्म रेललाई जोड्ने लिङ्क ट्र्याक निर्माणबारे अध्ययन गरिरहेको बताउनुभयो। विराटनगरका उद्योगीव्यवसायीले आईसीपीसम्म परीक्षण गरिसकिएको रेलमार्ग चाँडो प्रयोगमा ल्याउन सके त्यसको फाइदा नेपाललाई पुग्ने बताउँदै आएका छन्। मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले आईसीपीसम्म आइपुगेको रेलमार्ग प्रयोगमा ल्याउन भारतीय पक्ष सकारात्मक रहेको बताउँदै नेपालबाट सरकारी पहल जरुरी रहेको बताउनुभयो ।

भारतीय रेलवेले भारतको बथनाहादेखि विराटनगरको आईसीपीसम्मको रेलमार्गमा तीन वर्षअघि नै रेल सञ्चालनको सफल परीक्षण गरिसकेको छ । भारतसँग कूटनीतिक पहल भएमा आईसीपीसम्म कार्गो रेल ल्याउन सकिने विश्वास रहेको अध्यक्ष रिजालको भनाइ छ ।

 

यी पूर्वाधारको अधिकतम उपयोग गरेर आयात निर्यातलाई सहज र सुरक्षित बनाउन प्रधानमन्त्रीको भारत भ्रमणमा समेत कुरा हुनुपर्ने उद्योगीहरुको माग छ ।आईसीपीमा कन्टेनर लोड अनलोडका लागि नेपाल पक्षले केही खाली ठाउँमा माटो भर्ने र आईसीपी नजिकको रेल स्टेसनमा पक्की यार्डको निर्माण गर्ने काम भइरहेको छ । यो भारतीय पक्षले नै गरिरहेको छ ।तर रेलवे मार्गमा नेपाली कस्टम यार्ड आईसीपीसँगै नभएका कारण नेपाली पक्षले रेलको कन्टेनर यार्ड र पहुँच मार्ग निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

 

भारत सरकारले भारतको सीमावर्ती रेलवे स्टेसन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमिटर रेलमार्ग बनाइदिने सहमतिअनुसार काम भइरहेको छ । कटहरी गाउँपालिकामा मुआब्जा विवादले भारत सरकारलाई नेपालले जमिन हस्तान्तरण गर्न नसक्दा काममा केही अवरोध छ । बथनाहादेखि आईसीपीसम्मको सात दशमलव छ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य भएको छ । विराटनगरको आईसीपीदेखि थप १० किलोमिटरमा समेत काम धमाधम भइरहेको छ । अहिले आईसीपीदेखि विराटनगर१४ स्थित जतुवासम्मको ३.५ किलोमिटरमा लिक निर्माणको भइसकेको छ ।