राप्ती नदीमा जलयात्रा सुरु
2022-04-02 16:21:23cri
Share with:

आन्तरिक र भारतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले राप्ती नदीमा शुक्रबारदेखि जलयात्रा (-याफ्टिङ) सुरु गरिएको छ। राप्तीसोनारी गाउँपालिकाको कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा सुरु गरिएको जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्नुभयो । जलयात्राको दूरी करिब २७ किमि रहेको बताइएको छ।

 

उहाँले हामीसँग धेरै पर्यटकीय गन्तव्य र सम्भावना भए पनि त्यसको सदुपयोग गर्न नसक्दा आर्थिक विकास गर्न नसकेको चर्चा गर्दै अब यहाँ जलयात्राको आनन्द लिन ठूलो सङ्ख्यामा भारतीय र नेपाली पर्यटक आउने बताउनुभयो।

उहाँले सबै सम्भावित पर्यटकीय गन्तव्यको विकास गरेर पर्यटकका लागि सञ्चालन गर्ने नीति बनाएको बताउनुभयो । यस्ता जलयात्राले पर्यटन प्रवर्द्धन गर्नुका साथै रोजगारीको अवसरसमेत सिर्जना गर्ने मन्त्री चौधरीले बताउनुभयो। राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले जलयात्रा सञ्चालनमा ल्याएको गोरखापत्रले लेखेको छ

 

सो साहसिक जलयात्राको उद्घाटनलगत्तै मन्त्री चौधरी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारू, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाललगायतले साहसिक जलयात्रा गर्नुभएको थियो। पर्यटन डिभिजन कार्यालय, बाँकेका प्रमुख माधव ज्ञवालीले यो जलयात्राले यस क्षेत्रमा पर्यटक वृद्धि हुनुका साथै होटल, रेस्टुराँ र यातायातलाई समेत फाइदा पुग्ने बताउनुभयो।