चिनियाँ कम्पनी सिनो हाइड्रोद्वारा चैतभित्रै मेलम्ची ल्याउनका लागि धमाधम काम
2022-04-05 16:06:11cri
Share with:

नेपाल सरकारले चैत मसान्तभित्रै मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्पन्न गरी उपत्यकाबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने गरी धमाधम काम भइरहेको जनाएको छ। सरकारले आगामी चैत समान्तभित्रै मेलम्चीको पानी उपत्यकाबासीका घरका धारामा आउने प्रतिबद्धता जनाएअनुसार काम भइरहेको र तोकिएकै समयमा मेलम्ची आउने खानेपानी मन्त्रालयले दाबी गरेको कारोबार अनलाइनले लेखेको छ।

तोकिएकै समयमा आयोजना सफाइ तथा मर्मतको काम सम्पन्न गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोले तीनवटा नेपाली सहायक कम्पनीमार्फत काम गरिरहेको मेलम्ची खानेपानी विकास समितिले बताएको छ। मन्त्रालयका अनुसार हाल १५ प्रतिशतमात्रै काम रहेकाले चैतसम्म मेलम्ची खानेपानी उपत्यकामा ल्याउने तयारी भइरहेको छ। बाढी पहिरोका कारण क्षतिग्रस्त रहेको मेलम्ची खानेपानी आयोजना सफाइको काम भइरहेको मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार अहिले सुरुङमा पानी पठाएर सफाइको काम भइरहेको छ। सफाइको काम अन्तिम चरणमा पुगेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका प्रवक्ता ज्ञानमणि ढकालले चैतभित्रै मेलम्ची ल्याउने गरी आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाइएको बताउनु भएको छ। “आगामी चैत मसान्तभित्रै मेलम्ची खानेपानी उपत्यकाबासीको धाराधारामा ल्याउने गरी धमाधम काम भइरहेको छ,” उहाँले भन्नुभयो, “हाल बाढी तथा पहिरोका कारण आयोजनामा जम्मा भएको लेदो सफाइको काम भइरहेको छ, १५ प्रतिशतमात्रै काम बाँकी छ, गेटमा भने समस्या देखिरहेको छ, तर काम धमाधम अगाडि बढेको हुनाले चैतसम्ममा नै मेलम्ची आउनेमा विश्वस्त छौं।”
क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने उहाँको भनाइ छ। मन्त्रालयका अनुसार क्षतिग्रस्त बनेका सुरुङभित्रका ढोकाको मर्मत निर्माता भारतीय कम्पनी ‘पिरिसिजन इन्डिया लिमिटेड’ (पीआईएल) का प्राविधिकमार्फत भइरहेको छ। झन्डै दुई दशकको पर्खाइपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले क्षति पुगेको थियो। आयोजनामा क्षति भएसँगै मेलम्चीको पानी कहिले आउँछ भन्ने अनिश्चित बनेको थियो। मन्त्रालयले तोकिएको समयमा नै पानी वितरण हुने गरी छिटो आयोजना मर्मतको काम सम्पन्न गर्न फास्टट्राक माध्यमबाट अगाडि बढ्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव स्वीकृत भएको थियो।
मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ। मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा पुगेको क्षति, आयोजनासम्म पुग्ने आठ किलोमिटर सडक भत्किँदा, तीनवटा हेर्डबक्स नजिकको पुल, २ प्रवेश मार्गका पुल भत्किँदा, ढुगां गिट्टी माटो तथा बालुवाले हेर्डबक्स नै पुरिएको र त्यसलाई सफा गर्न करिब दुई अर्ब रुपैयाँ लागत लाग्ने पूर्वानुमान गरिएको छ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले हेर्डबक्स पुरिए पनि ठूलो क्षति भने भएको छैन। बाढीका कारण मेलम्ची नदीमा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितिको अनुमान छ। आयोजना मर्मत गर्न अझै कति लागत लाग्ने र ठ्याक्कै समय कति लाग्ने भन्ने विषयमा विस्तृत अध्ययनको रिपोर्ट भने आउन बाँकी छ।
समितिका अनुसार आयोजनासम्म जान जोडिएको करिब आठ किलोमिटर सडक मर्मत पनि समितिले नै गर्नेछ। ३० मिटर फराकिलो नदीमा बाढी आएपछि ६० मिटर फराकिलो बनेको आयोजनाले बताएको छ। भत्किएका पाँचवटा पुल निर्माण गर्नुपर्ने आयोजनाको दायित्व थपिएको छ। मन्त्रालयका अनुसार हालका लागि स्थायी बाँधबाट पानी ल्याउन सम्भव नभएकाले तत्कालका लागि अस्थायी बाँधमार्फत खानेपानी ल्याउने तयारी भएको छ।