लयमा फर्कंदै नेपाली पर्यटन व्यवसाय
2022-04-05 16:09:42cri
Share with:

कोभिड–१९ को महामारीका कारण सुस्ताएको नेपाली पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ। सन् २०२०को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो। सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हुँदै आएको कारोबार अनलाइनले लेखेको छ।
सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए। दोश्रो महिना फेब्रुअरी २० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने मार्च महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ४२ हजार पुगेको छ। यो संख्या हवाई मार्ग हुँदै आउने पर्यटकको हो। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष सोही अवधिमा १४ हजार ९ सय ७७ पर्यटक भित्रिएका थिए।
पछिल्लो तीन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक १५ हजार १३, दोश्रोमा अमेरिकाबाट ४ हजार ८ सय ९६ जना, तेश्रोमा बेलायतबाट ४ हजार २९, चौथोमा बंगलादेशबाट २ हजार १ सय ५२ जना नेपाल आएको पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसायमा ४५ प्रतिशतले सुधार भएको बताए। उनले भने, “कोभिड–१९ का कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने क्रममा रहेको छ। पछिल्लो समय नेपालमा पर्यटन आगमनमा वृद्धिले यस्तो संकेत गरेको छ।”
आगामी अक्टोबारसम्ममा कोभिडअघिकै अवस्थामा नेपालको पर्यटन आगमनमा सुधार हुने उनले बताएका छन्। पछिल्लो समय बंगलादेशको आगमनले उत्साह थपेको उनको भनाइ छ। वसन्त ऋतुमा अब साहसिक पर्यटकको आगमन पनि वृद्धि हुँर्द जाने तथा हिमाल आरोहणको लागि युरोप, अमेरिकाबाट पर्यटक आगमन हुने हुँदा नेपालको पर्यटन उद्योगलाई पुरानो लयमा फर्किन सहयोग पुग्ने बोर्डले जनाएको छ।
पर्यटन विभागका अनुसार आइतबारसम्म २ सय ५२ जनाले आरोहणका लागि अनुमति लिएका छन्। सिजनको सुरुवातमा नै आरोहीको संख्या उच्च रहेकाले गर्दा आगामी सिजना नेपालमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने अनुमान बोर्डले गरेको छ। नेपालका पर्यटकीय गन्तव्यहरुमा पनि पर्यटकको चहलपहल हेर्दा पर्यटक आममन सुधार हुँदै गएको होटल संघ पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले बताउनुभयो। उहाँले भन्नुभयो, “पर्यटक आगमनमा सुधार हुँदै आएको अवस्था छ। कोभिड–१९ पछिको यो समयमा हेर्दा पर्यटकको चहलपहल देख्न सकिन्छ। विशेषगरी भारतीय पर्यटक मुस्ताङ, मनाङको यात्रामा पोखारा हुँदै गइरहेका छन्।”
होटल संघ सौराहा च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरेले यहीअनुसार पर्यटक आगमनमा सुधार आउने हो भने यो वर्षको अन्त्यसम्ममा नेपालको पर्यटन बजार कोभिड–१९ अघिकै अवस्थामा पुग्ने देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सौराहामा आन्तरिक तथा भारतीय पर्यटकको आगमन सन्तोषजनक छ।”