चालु वसन्ते याममा सगरमाथा चढ्नका लागि ४५१ आरोहीलाई अनुमति प्रदान
2022-04-07 16:26:17cri
Share with:

यो वसन्ते याममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका लागि कुल ३८ मुलुकका नागरिकले अनुमति लिएका छन्। सगरमाथासहित कुल १६ वटा हिमाल चढ्न बुधबारसम्म ५३ समूहका ४५१ जनाले आरोहण अनुमति लिएका छन्। यसममा कुल ५९ मुलुकबाट नागरिक नेपाल आएका हुन्। सबैभन्दा धेरै अमेरिकाबाट ८१ जना रहेको अनलाइन खबरले लेखेको छ।

रुस र युक्रेनको युद्धका बीच युक्रेनले नेपाल सरकारलाई पत्र लेखी रुसी आरोहीलाई आरोहणमा रोक लगाउन माग गरेको छ। नेपाल सरकारले भने कुनै पनि आरोहीलाई रोक लगाएको छैन। पर्यटन विभागका अनुसार नेपालमा सगरमाथा चढ्न रुसी आरोही आउने क्रम जारी छ। बुधबारसम्म कुल १४ जना रुसी पर्वतारोहीले सगरमाथा चढ्न अनुमति लिइसकेका छन्।

विभागको तथ्यांक अनुसार बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन्। जसमा रुसबाट ४ महिलासहित १४ जनाले अनुमति पाइसकेका छन्।

सगरमाथाबाहेक अन्य हिमालका लागि भने २ जना रुसी नागरिकले अनुमति लिएको तथ्यांक छ। यसअनुसार कुल १६ रुसी आरोहीले बुधबारसम्म हिमाल चढ्न अनुमति प्राप्त गरेका हुन्। यसबीचमा अर्को युद्धरत मुलुक युक्रेनबाट भने एक जना पनि आरोही आएका छैनन्।

बुधबारसम्म सगरमाथा चढ्न सबैभन्दा धेरै अमेरिकाबाट ४२ जनाले अनुमति लिएका छन्। बेलायतबाट २१, भारतीय १५, नेपाल र क्यानडाबाट १०/१० जनाले अनुमति लिएका छन्।