बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्न थाले विदेशी पर्यटक
2022-04-10 17:00:54cri
Share with:

अन्तर्राष्ट्रिय हवाई उडान खुला भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक बढेका छन् । पर्यटकले होटल बुकिङ गर्न थालेपछि अहिले व्यवसायी पनि हर्षित रहेका कान्तिपुर अनलाइनले लेखेको छ। 

गत कात्तिकयता करिब ६ सय विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । यस अवधिमा गत वर्ष सयको हाराहारीमा पनि विदेशी पर्यटक आएका थिएनन् । बर्दिया निकुञ्जमा सहजै बाघ हेर्न पाइने भन्दै यहाँ पर्यटक आउने गरेका हुन् । बाघ हेर्न चैतदेखि जेठ उत्तम मानिन्छ । यति बेला झाडी नहुने भएकाले बाघ सहजै देख्न सकिने पथप्रदर्शक अनुराम चौधरीले बताउनुभयो । ‘स्वदेशी हुन् वा विदेशी, सबैको चाहना निकुञ्जभित्र बाघ हेर्ने हुने गरेको छ,’ उहाँले भन्नुभयो। गत कात्तिकयता ७ हजारभन्दा बढी आन्तरिक पर्यटक यहाँ भित्रिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सोही अवधिमा सार्क मुलुकबाट ८ सयभन्दा बढी पर्यटक आएको उहाँले बताउनुभयो । निकुञ्जमा हात्ती सफारी भने अझै खुलेको छैन । कोभिड पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म हात्ती सफारी सञ्चालनमा नआउने निकुञ्जले जनाएको छ । जिप सफारी र पैदल अनुगमन भने खुला छ ।

बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमै चर्चित बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकका लागि यो मौसम निकै फलदायी रहेको पर्यटन व्यवसायी रामजीबाबु थापा बताउनुहुन्छ। बर्दियामा सहजै बाघ देख्न पाइने भएका कारण पनि पर्यटक आउने क्रम बढ्दै गएको बबई रिसोर्टका सञ्चालक धर्मराज घिमिरेको भनाइ छ । ‘निकुञ्जमा शनिबार १२ देखि १५ वटा समूह आउने गरेका छन्,’ उहाँले भन्नुभयो ।