वसन्त ऋतुको आगमनसँगै जुर्मुराउँदै नेपालको पर्यटन
2022-04-11 16:22:22cri
Share with:

वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड–१९ कहरपछि बिस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२२ को सुरुवाती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिक रूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्वतारोही धमाधम गन्तव्यतिर निस्किएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५०० भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन् ।

गोरखापत्र अनलाइनका अनुसार काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटल यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका पनि व्यवसायी पनि उत्साहित छन्। काठमाडौँ महानगरपालिका–१६,ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयालले होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । यो होटलमा हाल अमेरिकी, भारतीय र युरोपेली पर्यटक धेरै रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका अधिकृत कवीन्द्र भट्टले मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएको जानकारी दिनुभयो ।

सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएको उहाँले बताउनुभयो। मार्चमा हवाई मार्ग भएर कुल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उहाँको भनाइ छ ।

होटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि बिस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन बिस्तारै जुर्मुराउँदै गएको बताउनुभयो । पछिल्ला दिनमा पर्यटन क्षेत्रमा देखिएको गतिविधिले नेपालको पर्यटन सुरक्षित रहेको र पाहुनाको पर्खाइमा रहेको सन्देश दिइरहेको छ । आगामी सिजनका लागि होटलमा राम्रो ‘इन्क्वाइरी’ आइरहेकाले पनि व्यवसायीलाई उत्साहित बनाएको उहाँको भनाइ छ । कार्यवाहक अध्यक्ष शाहले पर्यटक आगमन बढाउन एक महिना निःशुल्क भिसालगायतका प्याकेज घोषणा गर्नसकिए आउने दिन पर्यटनका लागि सुखद रहने उल्लेख गर्नुभयो ।