फोहोर अब चिम्नीमा पोलेर व्यवस्थापन गरिने
2022-04-12 15:24:10cri
Share with:

हरेक घरले नकुहिने फोहोरको पोका पार्नुपर्नेछ । त्यसमा सिसा र फलामबाहेकका फोहोर मात्र राखिएको हुन्छ । ती पोका फोहोर लिने गाडीमा राखेर पठाइन्छ । ती पोकाहरू हाल फोहोर उठ्न नसकेका काठमाडौं र ललितपुरको सडक किनारमा जस्तो फ्याँक्नु पर्दैन । कतै ल्यान्डफिल साइटमा पनि लगिँदैन ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको घर–घरबाट संकलित ती फोहोरका पोका त्रिभुवन विमानस्थलको उत्तरतर्फको जस्ताले बारबेरा गरेको टहरामा लगिनेछ । जहाँ फोहोर जलाउने जापानबाट ल्याएको अत्याधुनिक प्रविधिको मेसिन जडान गरिएको छ । इँटा पोल्न बनाइएको भट्टी जस्तै आगोको रापमा ती फोहोर हालिन्छ ।

‘फोहोर जलाउने ठाउँमा न दुर्गन्ध आउँछ न त धूवाँ नै । आगो बालेको बाफ मात्रै निस्कन्छ,’ गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले भन्नुभयो, ‘अब नगरमा प्लास्टिकलगायत जल्ने फोहोर थुप्रिएको हेर्नुपर्दैन । व्यवस्थापन गर्न जापानी प्रविधिको मेसिनबाट फोहोर जलाउन सुरु गरिसकेका छौं ।’ यो मेसिनबाट बिहीबारदेखि फोहोर जलाउन परीक्षणका रूपमा सुरु भएको हो ।

नकुहिने र नगल्ने सिसाबाहेकको फोहोर जलाउन नगरपालिकाले निजी क्षेत्रसँग सहकार्यमा जापानबाट अत्याधुनिक मेसिन ल्याएको हो । त्रिभुवन विमानस्थलको उत्तरतर्फ वाग्मती किनारको २३ आना जग्गामा बनेको टहराभित्र जलाएर नष्ट गर्न संरचना बनाइएको छ । जग्गासहित १४ करोड लागतमा फोहोर व्यवस्थापन सुरु भएको कान्तिपुर अनलाइनले खबर लेखेको छ।

मेसिनलाई मात्रै ४ करोड लगानी गरेको हिटा हेवी मेसिनरी एन्ड रिसाइकल प्रालिका सञ्चालक दर्शन पुडासैनीले बताउनुभयो। १५ दिन विभिन्न स्थानमा अवलोकन गरेलगत्तै त्यही प्रविधि नेपालमा भित्र्याइएको हो। यो मेसिनबाट दैनिक आठ हजार किलोसम्म फोहोर जलाउन सकिने प्रविधि जडान गरेर काम सुरु भइसकेको पुडासैनीले बताउनुभयो।

‘अहिले परीक्षण भइरहेको छ । नयाँ वर्षदेखि नियमित गर्छौं,’ उहाँले भन्नुभयो। नगरको फोहोर संकलन गरी प्रदूषणबिना अन्त्य गर्ने प्रविधि सुरु गर्ने गोकर्णेश्वर उपत्यकाकै पहिलो नगरपालिका बनेको छ । नगरपालिकाले हरेक घरमा प्लास्टिक दिएर नकुहिने फोहोर संकलन गरिन्छ । संकलित फोहोर चिम्नीभित्र हालेर जलाइन्छ । ‘फोहोर जलाए पनि धूवाँ बाहिर निस्कँदैन,’ पुडासैनीले भने, ‘फोहोर जलाउँदाको बाफ मात्रै बाहिर निस्कन्छ ।’ इँटाभट्टामा काँचो इँटा राखेपछि भित्रभित्रै पकाएजस्तै यहाँ पनि चिम्नीमा फोहोर हालेपछि ढक्कन बन्द गरिन्छ । बारम्बार घोचेर भने चलाइरहन्छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा लैजाने गरिन्छ । सडक पिच गरिदिनुपर्नेलगायतका माग राखेर स्थानीयवासीले विरोध जनाएपछि सहरको फोहोर उठ्न सकेको छैन । नगर क्षेत्रभित्रबाट ६ टिपर फोहोर संकलन भए पनि मेसिनमा २ ट्रक मात्रै चलाउन सकिने उहाँले बताउनुभयो।