युवा लगानीकर्ता अभिवृद्धिमा निजीक्षेत्रको अग्रसरता
2022-04-12 15:24:49cri
Share with:

युवा पुस्तालाई उद्यमशील बनाउँदै लगानीकर्ताका रूपमा विकास गर्न राज्य उदासीन छ। राज्य उदासीन बनिरहेका बेला निजीक्षेत्रले नै एउटा जमर्को गरेको छ। त्यसै अन्तर्गतको एक कार्यक्रम हो– सोमबार सम्पन्न ‘नेपाल लगानी सम्मेलन–२०२२’ । जानकी ग्लोबल फाउण्डेसन र नेपाल–फिलिपिन्स चेम्बर अफ कमर्स इण्डष्ट्रीले सहकार्य गरेर यो सम्मेलन आयोजना गरेका हुन्। दुईदिनसम्म चलेको यो सम्मेलन लगानीको चेतना र वित्तीय साक्षरता अभिवृद्धिका लागि सञ्चालन गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। 

‘युवा पुस्तालाई लगानीकर्ताका रूपमा विकसित गर्नु राज्यको दायित्व त हो नै, यसबाहेक उद्योगी व्यवसायी एवं लगानीकर्ताहरूको अगुवा संस्थाहरूको पनि कर्तव्य हो,’ आयोजक संस्था नेपाल–फिलिपिन्स चेम्बर अफ कमर्स इन्डष्ट्रीका अध्यक्ष शोभा ज्ञवालीले भन्नुभयो, ‘यही कर्तव्य सम्झिएर हामीले युवा पुस्तालाई लगानीकर्ताका रूपमा विकास गर्न र उनीहरूलाई मानसिक रूपमा पनि तयार पार्न सकिने गरी यो सम्मेलनको आयोजना गरेका हौं।’ 

युवा जनशक्तिलाई देशभित्रै लगानी गर्न उत्प्रेरित गर्ने र देशमै आफू स्वरोजगार बन्दै थप रोजगारी सिर्जना गर्न सक्षम नागरिक बनाउने अपेक्षासहित सम्मेलन आयोजना गरिएको अर्को आयोजक संस्था जानकी ग्लोबल फाउण्डेसनकी संस्थापक जानकी गुरुङले बताउनुभयो। नागरिकन्यूज डटकमका अनुसार दुईदिन चलेको यो सम्मेलनमा उद्यम तथा लगानी क्षेत्रमा लाग्न इच्छुक एक सय ५० जना युवा तथा विद्यार्थीहरूले सहभागिता जनाएका थिए।