निर्वाचन आयोगद्वारा सम्पूर्ण नेपाली नागरिकलाई पूर्ण खोपका लागि जोड
2022-04-12 15:20:59cri
Share with:

निर्वाचन आयोगले आगामी वैशाख १० गतेसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो।

खोप लगाएकाहरुलाई कोरोना सङ्क्रमणको जोखिम कम हुने भन्दै आयोगले आगामी वैशाख १० गतेसम्म सबै नेपाली नागरिकलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई गत फागुन १६ गते लिखित रुपमा आग्रह गरेको थियो । त्यस्तै, सरकारले चैत मसान्तभित्र १८ वर्षमाथिका सबै लक्षित जनसङ्ख्यालाई पूर्णमात्रा खोप लगाउने लक्ष्य लिएको थियो । सरकारको तथ्याङ्क अनुसार, अझै ६ प्रतिशत १८ वर्ष माथिका लक्षित जनसङ्ख्याले पहिलो खोप लगाएका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले पनि एक मात्रा डोज नलगाउने लक्षित जनसङ्ख्या ५.६ प्रतिशत मात्रा बाँकी रहेकाले निर्वाचनसम्म सबै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप लगाउने बताउनुभयो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गतको खोपशाखा प्रमुख सागर दाहालले नेपालले कोभिडविरुद्धको खोप लगाउनमा निकै राम्रो प्रगति हासिल गरेको बताउनुभयो । उहाँका अनुसार, सरकारले लिएको लक्ष्य अनुसार लगभग लगभग प्रगति हासिल गरिसकेका छौँ, जनस्वास्थ्यमा १०० प्रतिशत पुर्याउन निकै गाह्रो हुन्छ, १०० प्रतिशत खोज्न थाल्यौँ भने दुःख पाइन्छ । देशव्यापी रुपमा लगभग लक्षित जनसङ्ख्याले एक मात्रा खोप लगाएको भए पनि स्थानीय तह अनुसार कुनै प्रदेशमा शतप्रतिशत खोप लगाएको र कुनै प्रदेशमा ६० प्रतिशतले पनि खोप लगाएका छैनन् ।

खोप लगाउन बाँकी स्थानीय तहमा पनि खोप लगाउन अभियान तीव्ररुपमा चलेको डा. अधिकारी बताउनु हुन्छ । निवार्चनसम्म सबै नागरिकलाई कम्तीमा एक मात्रा भए पनि खोप लगाउने दाहाल बताउनु हुन्छ ।

यसैबीच सरकारले एक करोड ९९ लाख २२ हजार १६४ जना १८ वर्षमाथिका लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । लक्ष्य अनुसार, १८ वर्षमाथिका एक करोड ८६ लाख ८१ हजार २८ जना अर्थात् ९३.८ प्रतिशतले एक मात्रा र एक करोड ६५ लाख २७ हजार ५०९ जना अर्थात् ८३ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

त्यस्तै, कुल जनसङ्ख्याको दुई करोड ९१ लख ९२ हजार ४८० जनालाई सरकारले खोप लगाउने लक्ष्य लिएको छ । कुल जनसङ्ख्यामध्ये सरकारले अहिलेसम्म दुई करोड २० लाख ९६ हजार ८५६ जना अर्थात् ७७.७ प्रतिशतले एक मात्रा र एक करोड ९२ लाख ८८ हजार ३४० जना अर्थात् ६६.१ प्रतिशतले पूर्णमात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।मन्त्रालयको तथ्याङ्कलाई आधार मान्ने हो भने अझै पनि ७० लाख ९५ हजार ६३४ जनाले पहिलो मात्रा खोप पाएका छैनन् । त्यस्तै, ९९ लाख चार हजार १४० जनाले पूर्णमात्रा खोप नपाएको तथ्याङ्कले देखाएको छ ।त्यसैगरी, सरकारले १२ वर्षमाथिका ३४ लाख पाँच हजार ४५५ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो ।

सरकार गत वर्ष माघ महिनाबाट कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । यो अवधिमा अहिलेसम्म चार करोड चार लाख १० हजार २४६ मात्रा खोप लगाइसकेको तथ्याङ्क छ ।