आयातमा उच्च वृद्धि, बढ्दो व्यापार घाटा
2022-04-13 15:35:15cri
Share with:

मुलुकमा यो वर्ष आयात निर्यात दुवै बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-०७८ को आठ महिनामा आयात ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रहेकोमा चालू आर्थिक वर्षको सो अवधिमा बढेर १३ खर्ब ८७ अर्ब ३४ करोड ८५ लाख पुगेको छ । यस्तै अघिल्लो वर्ष फागुन महिनामा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको वस्तु तथा सेवा आयात निर्यात भएकोमा चालू आवको सो अवधिमा निर्यात बढेर एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख पुगेको छ । चालू आर्थिक वर्षमा आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात हुन नसक्दा व्यापार घाटा बढेर १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रहेको छ ।

एक वर्षको अवधिमा आयात निर्यातदुवै बढेको छ । आठ महिनाको अवधिमा निर्यात झन्डै दोव्बर बढ्नु सकारात्मक भए पनि कच्चा पदार्थ आयात गरेर पुनः रिफाइन गरेर भ्यालु एड गरेर निर्यात हुँदा यसको दीर्घकालीन नहुने विज्ञहरूको भनाइ छ । १ सय ४७ अर्बको वस्तु निर्यात हुँदा ५० प्रतिशत निर्यात भने स्वयबिन र पाम आयलको रहेको छ । जुन कच्चा पदार्थ बाहिरबाट आयात गरिएको हो । भारतले पाम आयल जुनसुकै बेला पनि प्रतिबन्ध लगाउन सक्छ।

चालू आर्थिक वर्षको आठ महिनामा स्वयबिन तेल ४१ अर्ब ४० करोड १७ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै आठ महिनामा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम आयल निर्यात भएको थियो । ८ अर्ब ४५ करोड २१ लाख १० हजार रुपैयाँको यार्न कटन निर्यात भएको कारोबार अनलाइनले जनाएको छ।

आठ महिनामा मुलुकमा सबैभन्दा धेरै १ खर्ब ८४ अर्ब ९८ करोड ४४ लाख ६३ हजार रुपैयाँको इन्धन आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ९६ अर्ब ८० करोड १२ लाख ३२ हजार रुपैयाँ इन्धन आयात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले ठूलो रकमको इन्धन आयात भएको हो । यस्तै १ खर्ब ३७ करोड ८८ लाख ३३ हजार रुपैयाँको मेसिनरी सामान आयात भएको छ । गत वर्ष सो अवधिमा ७३ अर्ब ८२ करोड १७ लाख २० हजार मेसिनरी सामान आयात भएको छ । आठ महिनामा ४३ अर्ब ७४ करोड ६७ लाख ७ हजार रुपैयाँको क्रुड आयल आयात भएको छ । गत वर्ष सो अवधिमा २५ अर्ब २३ करोड ३९ लाख ५ हजार रुपैयाँको क्रुड आयल आयात भएको थियो ।

यस्तै औषधि ५२ र्अ २२ करोड ६७ लाख ८२ हजार रुपैयाँको आयात भएको छ। अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब १६ करोड ३२ लाख ६ हजार रुपैयाँको आयात भएको थियो । विभागका अनुसार आठ महिनामा ३२ अर्ब ६८ करोड ४१ लाख ३८ हजार रुपैयाँको सुन आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १६ अर्ब ३६ करोड २५ लाख ७६ हजार रुपैयाँको सुन आयात भएको थियो । यस्तै आठ महिनामा १५ अर्ब ३६ करोड ६४ लाख ९ हजार रुपैयाँको चाँदी आयात भएको छ । अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९८ लाख ७० हजार रुपैयाँको आयात भएको थियो ।

व्यापारविज्ञ रविशंकर सैजु आयातको तुलनामा निर्यात कम हुँदा व्यापार घाटा बढ्दै गएको बताउनुभयो। विलासिताका वस्तुको आयातमा कम गरेर व्यापार घाटा कम गर्न सकिने उहाँको भनाई छ। निर्यातमा वृद्धि भए पनि स्वदेशी उत्पादन नभएर कच्चा पदार्थ आयात गरेर पुनः रिफाइन गरेर पुनः निर्यात गर्दा यसले दीर्घकालीन रुपमा निर्यात बढाउन मद्दत नपुग्ने उहाँको भनाइ छ।